जेनजी आन्दोलनपछि नेताहरू असुरक्षित : देउवा दम्पती भाडाको घरमा
२०८२ आश्विन १९, आईतवार १४:०६
काठमाडौं, असोज १९, जेनजी आन्दोलनको उग्र प्रदर्शनपछि देशका शीर्ष नेताहरू निजी आवास गुमाउँदै अस्थायी बसोबासमा पुगेका छन्। नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी, परराष्ट्रमन्त्री आरजु राणा देउवा, अहिले काठमाडौंको महाराजगञ्जस्थित भाडाको घरमा बसिरहेका छन्।
भदौ २४ गतेको रात, बूढानिलकण्ठस्थित देउवा निवासमा प्रदर्शनकारीले आगजनी गरेका थिए। आगलागीअघि भीडले देउवा दम्पतीलाई कुटपिट गर्दै घरबाट जबर्जस्ती निकालेको बताइन्छ। आगोले देउवा निवास पूर्ण रूपमा ध्वस्त बनाएको थियो।
घटनापछि नेपाली सेनाले उद्धार गरेर शिवपुरी ब्यारेकभित्र उपचार गराएको थियो। दुबै जना असोज २ गते डिस्चार्ज भए पनि अहिले सम्म सार्वजनिक रूपमा देखिएका छैनन्। कांग्रेस पार्टीले पनि देउवाको वर्तमान बसोबास वा स्वास्थ्य अवस्थाबारे कुनै आधिकारिक जानकारी दिएको छैन।
यसैबीच, आन्दोलनले देशभरका शीर्ष नेताहरूको घरमा व्यापक क्षति पुर्याएको छ। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली भक्तपुरको गुण्डुमा अस्थायी रूपमा बसिरहेका छन्, जहाँ उनलाई सेनाले विशेष सुरक्षा दिएको बताइन्छ।
त्यस्तै, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को खुमलटारस्थित घरसमेत आगजनीमा परेपछि उनी आफ्नै आफन्तको घरमा आश्रय लिएर बसेका छन्।
राजनीतिक संकटपछि राजधानीका पूर्वप्रधानमन्त्रीहरू एकपछि अर्को गरी आफ्नो आवास छोड्न बाध्य भएका छन्। स्रोतहरूका अनुसार, प्रदर्शनपछि नेताहरू सेनाको सुरक्षामा रहेका छन् र अधिकांशले सार्वजनिक गतिविधि स्थगित गरेका छन्।
देशको राजनीतिक केन्द्र एकाएक मौन बनेको छ — नेताहरू सुरक्षित स्थानमा, तर जनताको प्रश्न भने अझै सडकमा गुञ्जिरहेको छ।




