भारतले नेपाललाई सहयोग गर्ने प्रतिबद्धता जनायो
२०८२ आश्विन १९, आईतवार १७:०८
विराटपाटी अनलाइन, असोज १९, नेपालका विभिन्न पहाडी तथा तराईका जिल्लामा लगातारको भारी वर्षाले जनधनमा ठूलो क्षति पुर्याएको छ। इलाम, पाँचथर, धनकुटा, उदयपुर, र सुनसरीसहितका क्षेत्रमा बाढी र पहिरोका घटनाले जनजीवन अस्तव्यस्त बनेको छ। यसबीच भारतले नेपाललाई आवश्यक सहयोग गर्न तयार रहेको जनाएको छ।
प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै भनेका छन्,
“नेपालमा भारी वर्षाका कारण भएको जनधनको क्षति पीडादायी छ। हामी यस कठिन समयमा नेपाली जनता र नेपाल सरकारको साथमा छौं। एक मित्रवत् छिमेकी र पहिलो रेस्पोन्डरको रूपमा भारत आवश्यक पर्ने कुनै पनि खाले सहयोग गर्न प्रतिबद्ध छ।”
भारतीय विदेश मन्त्रालयका अधिकारीहरूले पनि राहत तथा उद्धारका कार्यमा सहयोग पुर्याउन तयारी भइरहेको बताएका छन्। भारतले विगतमा पनि विभिन्न प्राकृतिक विपत्तिका बेला नेपाललाई तत्काल राहत र उद्धार सहयोग गर्दै आएको छ।
नेपालमा निरन्तरको वर्षाका कारण देशभरका राजमार्गहरू अवरुद्ध भएका छन्। कोशी ब्यारेजका सबै ५६ ढोका खोलिएको छ भने धेरै स्थानमा विद्युत् आपूर्ति र सञ्चार सेवा अवरुद्ध भएका छन्।
नेपाल सरकारका सुरक्षा निकायहरू राहत र उद्धारका कार्यमा सक्रिय छन्।
स्रोतका अनुसार अहिलेसम्म देशभर करिब ५० जनाको मृत्यु भएको, दर्जनौं बेपत्ता र सयौं परिवार विस्थापित भएका छन्।




