काठमाडौं, असोज १९ – जनमत पार्टीले आफ्नो संगठनभित्र नयाँ ऊर्जा भर्ने उद्देश्यसहित ‘जेन–जी जनमत संघ’ नामक युवा संगठन गठन गरेको छ। पार्टी अध्यक्ष डा. सीके राउतले आइतबार सामाजिक सञ्जालमार्फत यसको औपचारिक घोषणा गर्दै देशभरका युवालाई सक्रिय भूमिकामा उत्रिन आह्वान गरेका छन्।

राउतले बाढी, पहिरो र डुबानका कारण प्रभावित क्षेत्रमा तत्काल राहत तथा उद्धारमा सहभागी हुन पार्टी संरचना र विशेषगरी जेन–जी जनमत संघका सदस्यहरूलाई आग्रह गरेका छन्। उनले स्थानीय निकाय, प्रहरी र प्रशासनसँग समन्वय गर्दै सुरक्षित रूपमा कार्य गर्न निर्देशनसमेत दिएका छन्।

“जनमत पार्टी भनेकै जेन–जीको पार्टी हो। अब जे गर्छ, जेन–जीले गर्छ,” राउतले लेखेका छन्।

यो संगठनमार्फत पार्टीले नयाँ पुस्तामुखी राजनीतिक अभियान अघि बढाउने तयारी गरेको छ। संघले अघि सारेका एजेन्डामा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रप्रमुख, निर्वाचनमा ‘राइट टु रिजेक्ट’ र ‘रिकल’ को अधिकार, ३० हजार युवालाई प्रदेश प्रहरीमा समावेश गर्ने, योग्य विज्ञलाई मन्त्री बनाउने तथा न्यायपालिका र संवैधानिक निकायका प्रमुखहरूलाई समेत निर्वाचित प्रणालीबाट ल्याउने प्रस्तावहरू छन्।

राउतको भनाइमा, “जेन–जी अब केवल दर्शक होइन, परिवर्तनको मूल शक्ति हो।” जनमत पार्टीले यही पुस्तामार्फत देशको राजनीतिक र शासकीय सुधारको नयाँ अध्याय सुरु गर्ने तयारी गरेको संकेत दिएको छ।