काठमाडौं असाेज २०, नेपाली कांग्रेसभित्र पुनः आन्तरिक राजनीतिक हलचल सुरु भएको छ। सभापति शेरबहादुर देउवाले असोज २६ गतेका लागि बोलाएको केन्द्रीय समिति बैठकअघि नै पार्टीभित्रका असन्तुष्ट नेताहरुले विशेष महाधिवेशनको मागसहित हस्ताक्षर बुझाउने तयारी गरेका छन्।

पार्टी विधानअनुसार विशेष महाधिवेशनका लागि दुईवटा उपाय छन्। पहिलो, केन्द्रीय समिति बैठकले आवश्यक ठानेर बोलाउने र दोस्रो, ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले कारणसहित लिखित माग गर्दा बोलाउन सक्ने। हाल असन्तुष्ट समूहले दोस्रो विकल्पमार्फत माग अघि बढाउने तयारी गरेको छ।

संस्थापनइतर नेताहरूको दाबीअनुसार आवश्यक ४० प्रतिशत हस्ताक्षर जुटिसकेको छ। उनका अनुसार सभापति देउवा पक्षका केही प्रतिनिधिहरू पनि हस्ताक्षरकर्तामध्ये छन्।
महामन्त्री गगन थापा निकट एक नेताले भने, “विशेष महाधिवेशन माग गर्न ४० प्रतिशत प्रतिनिधिको हस्ताक्षर चाहिन्छ, तर ६०–६५ प्रतिशतसम्म सहजै पुग्ने अवस्था छ।”

१४औं महाधिवेशनमा ४ हजार ७४३ प्रतिनिधि चयन भएका थिए। त्यस अनुसार विशेष महाधिवेशनका लागि कम्तीमा १ हजार ८९८ जनाको हस्ताक्षर आवश्यक पर्छ। विधानअनुसार लिखित रूपमा माग भएपछि तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने व्यवस्था छ।

यस विषयमा महामन्त्री गगन थापा र डा. शेखर कोइरालाबीच पनि छलफल भएको बुझिएको छ। उनीहरू दुवै पक्षले सभापति देउवा नेतृत्वमा सुधार आवश्यक रहेको मत राख्दै आएका छन्।

देउवा पक्षले भने यसबारे औपचारिक टिप्पणी गरेको छैन। तर राजनीतिक विश्लेषकहरूका अनुसार, विशेष महाधिवेशनको माग औपचारिक रूपमा दर्ता भएपछि कांग्रेसभित्र नेतृत्व विवाद नयाँ चरणमा प्रवेश गर्ने सम्भावना बढ्नेछ।