भोजपुर–लेगुवा सडक आंशिक रूपमा खुल्यो, यात्रुहरूलाई सहजता
२०८२ आश्विन २०, सोमबार १३:५०
भोजपुर । अबिरल वर्षापछि अवरुद्ध भएको भोजपुर–लेगुवा ६६ किलोमिटर मुख्य सडक खण्ड अन्ततः एकतर्फी सञ्चालनमा आएको छ। विभिन्न स्थानमा खसेका पहिरो हटाएसँगै लामो समयदेखि रोकिएको सवारी आवागमन केही सहज बनेको हो।
सडक बन्द हुँदा बाटोमै अलपत्र परेका यात्रुहरू अब गन्तव्यतर्फ लागेका छन्। वर्षासँगै पहिरो र सडक धसिने जोखिम उच्च भएपछि केही दिनअघिसम्म सवारी सञ्चालनमा रोक लगाइएको थियो।
यसैबीच, मध्य पहाडी राजमार्गअन्तर्गत देउराली–चखेवा सडकखण्डको शिरदली क्षेत्रमा झरेको ठूलो पहिरो हटाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिए। उनका अनुसार, उक्त सडक पनि चाँडै सञ्चालनमा ल्याउने तयारी भइरहेको छ।
स्थानीयवासीले भने पहिरोको जोखिम यथावत् भएकाले सतर्कतासाथ मात्र सवारी चलाउन आग्रह गरेका छन्।




