देशभर मनसुनी प्रभाव, विभिन्न प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना
२०८२ आश्विन २०, सोमबार १४:२६
काठमाडौं असाेज २०, देशभर हाल मनसुनी वायुको प्रभाव कायमै रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यतया बदली रहनेछ भने बाँकी प्रदेशहरूमा आंशिक बदली रहने अनुमान गरिएको छ।
महाशाखाले दिएको पछिल्लो विवरण अनुसार कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भूभागका केही ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्ने सम्भावना रहेको छ।
विभागले पछिल्ला वर्षाका कारण पहिरो, बाढी र सडक कटानको जोखिम उच्च हुनसक्ने भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। मौसमविद्हरूका अनुसार मनसुनी प्रणाली अझै सक्रिय रहेकाले आगामी केही दिनसम्म पनि यस्तै स्थिति रहन सक्ने अनुमान गरिएको छ।
त्यस्तै, राजधानी काठमाडौंमा पनि बिहानैदेखि आंशिक बदली रही बेलुकातिर हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। हावाहुरी, चट्याङ तथा बाढी–पहिरो जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा बस्न र यात्रा गर्दा विशेष सावधानी अपनाउन अनुरोध गरिएको छ।




