काठमाडौं असाेज २१,  नेपाल विद्युत प्राधिकरणकाे स्रोत अनुसार नेपालले भारतलाई रातको समयमा भने भण्डारण योजनाबाट उत्पादित बिजुली ४ भारतीय रुपैयाँ प्रति युनिट दरमा बिक्री हुने गरेको छ। 

देशभित्रको माग पूरा गरी बाँकी रहेको विद्युत् नेपालले दैनिकरुपमा औसत एक हजार मेगावाटसम्म भारत र बंगलादेशमा निर्यात गरिरहेको छ। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालका अनुसार चालु आर्थिक वर्षको साउनदेखि अहिलेसम्म करिब १५ अर्ब रुपैयाँ बराबरको बिजुली निर्यात भइसकेको छ।

प्राधिकरणले भारतीय ऊर्जा एक्सचेन्ज (IEX) मार्फत ‘डे–अहेड’ र ‘रियल टाइम’ बजारमा प्रतिस्पर्धात्मक दरमा विद्युत् बिक्री गरिरहेको छ। साथै, द्विपक्षीय मध्यकालीन सम्झौताअनुसार हरियाणा र बिहार राज्यमा पनि बिजुली आपूर्ति भइरहेको छ। भारतको प्रसारण संरचना प्रयोग गरी बंगलादेशमा पनि दैनिक ४० मेगावाट विद्युत् बिक्री भइरहेको प्राधिकरणले जनाएको छ।

विद्युत् निर्यातका लागि भारतसँगको कारोबार भारतीय रुपैयाँमा र बंगलादेशसँगको कारोबार अमेरिकी डलरमा हुने गरेको छ। यसले नेपाललाई दुई देशबाटै विदेशी मुद्रा आम्दानीमा योगदान पुर्‍याइरहेको छ।

हाल प्राधिकरणले भारत र बंगलादेश गरी १ हजार १ सय ६५ मेगावाटसम्म विद्युत् निर्यातको स्वीकृति पाएको छ।

विद्युत् आदानप्रदानका सन्दर्भमा नेपाल–भारत ऊर्जा समिति (PEC) को पछिल्लो बैठकले १३२ केभी लाइनमार्गका लागि ८.१ भारतीय रुपैयाँ, ३३ केभीका लागि ८.७८ भारतीय रुपैयाँ, र ११ केभीका लागि ९.४१ भारतीय रुपैयाँ प्रति युनिट दर निर्धारण गरेको छ।औसत ७ देखि ८ नेपाली रुपैयाँ प्रति युनिट दरमा बिजुली बिक्री गर्दै आएको छ। हरियाणा र बिहार राज्यका लागि गरिएको नयाँ सम्झौताअनुसार दर ८.७२ भारतीय रुपैयाँ प्रति युनिट तोकिएको छ। 

विद्युत् निर्यातबाट नेपालले न केवल आम्दानी वृद्धि गरेको छ, तर ऊर्जा क्षेत्रमा आत्मनिर्भरता र विदेशी मुद्रा सन्तुलनमा पनि सकारात्मक सन्देश दिएको विश्लेषकहरूको भनाइ छ।