सिंहदरबारमा लागेको आगो र काठमाडौं महानगरको भूमिका : बालेन शाहको प्रतिवाद
२०८२ आश्विन २१, मंगलवार १८:३८
काठमाडौं, असोज २१ ,सिंहदरबारमा लागेको आगोका विषयमा पछिल्ला दिनहरूमा उठेका प्रश्न र आरोपहरूबीच काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले विस्तृत स्पष्टीकरण दिएका छन्। सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको लामो अभिव्यक्तिमा उनले “दमकल तीन दिनसम्म हेरेर बस्यो” वा “सिंहदरबार जलाउने नै बालेन शाह हुन्” भन्ने आरोपहरूलाई बेआधार र अफवाहको संज्ञा दिएका छन्।
शाहका अनुसार भदौ २४ गतेको रात देश “पूर्ण अराजक अवस्था”मा थियो। “त्यो दिन देशमा सरकार थिएन, सुरक्षाको संयन्त्र ढलेको थियो, सवारीसाधन त के, मान्छे हिँडडुल गर्न पनि नसक्ने अवस्था थियो,” उनले लेखेका छन्। यस्तो परिस्थितिमा पनि काठमाडौं महानगरको टिम निरन्तर उद्धार र आगो नियन्त्रणमा जुटेको दाबी उनले गरेका छन्।
उनका अनुसार सिंहदरबारमा आगो लाग्दा महानगरको दमकल तत्कालै पठाइए पनि आन्दोलनकारीको भीडका कारण दमकल त्यहाँ प्रवेश गर्न नसकेको थियो। “भिड केही शान्त भएपछि २४ गते साँझ ८:१५ बजे महानगरको दमकल सिंहदरबार पुगेको थियो,” शाहले उल्लेख गरेका छन्।
महानगरसँग हाल न्युरोड, बालाजु र रामहिटीमा गरी पाँच वटा दमकल सञ्चालनमा रहेको र जम्मा ४४ जना जनशक्ति तीन शिफ्टमा खटिने व्यवस्था भएको उनले जानकारी दिएका छन्। “हामी कुनै आरोपबाट भाग्दैनौं, जिम्मेवारीबाट त अझै होइन,” शाहको भनाइ छ।
उनले भदौ २३ देखि २८ गतेसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ५५ पटकभन्दा बढी दमकल परिचालन भएको विवरण सार्वजनिक गरेका छन्। संसद भवन, सर्वोच्च अदालत, अख्तियार, विभिन्न बैंक, प्रहरी कार्यालय, अस्पताल, डाटा सेन्टर र गोदामहरूमा आगो निभाउने कार्यमा महानगरको टिम खटिएको उनले उल्लेख गरेका छन्।
सिर्फ आगो नियन्त्रण मात्र नभई स्वास्थ्यकर्मी, औषधि, रगत, खाना र लाश व्यवस्थापनसम्मको जिम्मेवारी महानगरले सम्हालेको शाहको दाबी छ। “कुनै बिरामीका अभिभावक नभए महानगरका नगरप्रहरीले अपरेसनका लागि जिम्मेवारी लिँदै हस्ताक्षर गरेका छन्,” उनले भनेका छन्।
शाहले अफवाह फैलाउने र तथ्य बिना निष्कर्ष निकाल्नेहरूप्रति सचेत रहन आग्रह गर्दै भनेका छन्, “यस्ता कार्यले जनतालाई भ्रममा पार्छ र दिन–रात खट्ने हाम्रो टिमको मनोबल गिराउँछ।”
उनले मिडियासँग पनि सत्यतथ्यमा आधारित समाचार प्रकाशन गर्न आग्रह गर्दै अन्त्यमा लेखेका छन् —
“देशलाई अहिले एकता र साँचो कुराको खाँचो छ, हल्ला र झुटको होइन।”




