विर्तामोड असाेज २२ ,एक वर्षअघि सुधारको संकेत देखिएको अलैँची बजार फेरि ओरालो लागेको छ। गत वर्ष प्रतिमन (४० किलो) रु ९० हजारदेखि एक लाख १० हजारमा कारोबार भएको अलैँची अहिले घटेर रु ८० हजारमा झरेको छ।

अलैँची व्यवसायी महासङ्घ सङ्खुवासभाका अध्यक्ष कुमार श्रेष्ठका अनुसार अन्तर्राष्ट्रिय बजारमा माग घट्दा मूल्यमा पुनः गिरावट आएको हो। “यो वर्ष उत्पादन पनि बढेको छ, तर माग घटेकाले मूल्य घट्न बाध्य भयो,” श्रेष्ठले बताए।

सङ्खुवासभामा अहिले गुणस्तरीय (ग्रेडेड) अलैँची प्रतिमन रु ८२ हजार र सामान्य ग्रेडिङ नभएको रु ८० हजारमा बिक्री भइरहेको छ।

अलैँचीलाई ‘कालो सुन’ मान्ने किसानहरू भने यो वर्षको बजार मूल्यले निराश भएका छन्। “गत वर्ष थोरै भए पनि मुनाफा थियो, अहिले लागत उठाउनै गाह्रो भयो,” मादी गाउँपालिकाका किसानहरूले बताएका छन्।

सङ्खुवासभामा करिब २,८७१ हेक्टर क्षेत्रफलमा अलैँचीखेती हुँदै आएको छ। गत वर्ष ९४० मेट्रिक टनभन्दा बढी उत्पादन भएको थियो। नेपालभर उत्पादित करिब ९८ प्रतिशत अलैँची विदेशी बजारमा निर्यात हुन्छ।

अलैँची पूर्वी पहाडका प्रमुख नगदे बालीमध्ये एक हो। सङ्खुवासभा, पाँचथर, ताप्लेजुङ, इलाम र धनकुटाका किसानहरूको मुख्य आम्दानी यही हो। तर मूल्य अस्थिरताले पछिल्ला वर्षहरूमा किसानहरूलाई चिन्तित बनाएको छ।

व्यवसायीहरूका अनुसार, अलैँचीलाई क, ख, र ग तीन ग्रेडमा वर्गीकरण गरिन्छ, जसअनुसार मूल्य फरक पर्छ। तर यसपालिको मूल्य गिरावटले सबै ग्रेडका अलैँची प्रभावित भएका छन्।