काभ्रेपलाञ्चोक ,२४ असोज,अविरल वर्षाका कारण रोशी खोलाले बगाएका बीपी राजमार्गका विभिन्न खण्डहरूमा मर्मत र डाइभर्सन निर्माण तीव्र गतिमा अघि बढेका छन्। क्षतिग्रस्त १९ स्थानमध्ये १७ स्थानमा डाइभर्सन तयार भइसकेका छन् भने बाँकी दुई स्थानमा काम अन्तिम चरणमा पुगेको सडक डिभिजन भक्तपुरका प्रमुख इञ्जिनियर सुमन योगेशले जानकारी दिएका छन्।

उनका अनुसार काभ्रे खण्डका चौकीडाँडा, कटुन्जेको घुमाउने, चारसयबेसी, गिम्दीबेसी, नार्के, चिउरीबास, बोक्सीकुना, कालढुंगा, डालाबेसी र पिप्ले लगायत १० स्थानमा तथा सिन्धुली खण्डका ३ स्थानमा डाइभर्सन बनिसकेका छन्। अब माम्तीका दुई स्थानमा मात्र अस्थायी बाटो निर्माण जारी छ।

“हामीले बिहीबार रातभर काम गरेका छौं,” इञ्जिनियर योगेशले भने, “आज साँझसम्ममा बीपी राजमार्ग पूर्णरूपमा सञ्चालनमा ल्याउने लक्ष्य लिएका छौं।”

स्थानीय प्रशासनका अनुसार राजमार्ग अवरुद्ध हुँदा वैकल्पिक सडकहरूमा अत्यधिक भीड भएको थियो। तर अधिकांश खण्डमा यातायात सञ्चालनको तयारी पूरा भइसकेकाले यात्रुहरूले आज साँझदेखि सहज यात्रा गर्न सक्ने अपेक्षा गरिएको छ।

१९ मध्ये १७ ठाउँमा डाइभर्सन तयारबाँकी २ ठाउँ माम्ती क्षेत्रमाआज साँझसम्म राजमार्ग सञ्चालनको लक्ष्यरातभर निरन्तर मर्मत कार्य जारी रहने छ