नेपालकै सबैभन्दा ठूलो लक्ष्मीनारायण मठ हुलाक टिकटमा
२०८२ आश्विन २४, शुक्रबार १६:२७
महोत्तरी, असोज २४ ,महोत्तरीको मटिहानीस्थित ऐतिहासिक तथा सांस्कृतिक धरोहर लक्ष्मीनारायण मन्दिर (मठ) अब देशको हुलाक टिकटमा पनि अंकित भएको छ।
हुलाक सेवा विभागले शुक्रबार विशेष समारोहबीच रु. १० अंकित मूल्यको टिकट सार्वजनिक गरेको हो, जसमा मन्दिरको भव्यता झल्काउने चित्र समेटिएको छ। उक्त टिकटमा सूचना तथा सञ्चार मन्त्री जगदीश खरेलले औपचारिक रूपमा टाँचा लगाएर प्रकाशन गर्नुभएको हो।
सरकारको यो कदमले मटिहानीलाई धार्मिक, ऐतिहासिक र सांस्कृतिक दृष्टिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चिनारी दिलाउने विश्वास लिइएको छ।
मटिहानी नगरपालिकाले २०८१ असार ११ गते नै हुलाक सेवा विभागमा टिकट प्रकाशनका लागि औपचारिक प्रस्ताव पेश गरेको थियो। प्रस्ताव स्वीकृत भएपछि विभागले अध्ययन, डिजाइन र मूल्याङ्कन प्रक्रिया पूरा गरी टिकट तयार गरेको हो।
नगर प्रमुख हरि प्रसाद मण्डलले हुलाक टिकट प्रकाशनलाई नगरको गौरवसँग जोड्दै भने,
“लक्ष्मीनारायण मठ हाम्रो अस्मिता र आस्थाको केन्द्र हो। यसले मटिहानीको सांस्कृतिक पहिचान विश्वभर फैलाउनेछ।”
लक्ष्मीनारायण मठ धार्मिक र ऐतिहासिक दुवै दृष्टिले महत्वपूर्ण स्थल हो। राजगुठीको रूपमा संरक्षण गरिएको यस मन्दिरमा प्रत्येक वर्ष हजारौं तीर्थालु दर्शन गर्न आउने गर्छन्।
स्थानीयवासीहरूका अनुसार, हुलाक टिकटमा मन्दिरको समावेशले मटिहानीको ऐतिहासिक सम्पदालाई राष्ट्रिय गौरवको प्रतीक बनाउनेछ र सांस्कृतिक पर्यटन प्रवर्द्धनमा सकारात्मक प्रभाव पार्नेछ।
मटिहानी — आस्था, इतिहास र गौरवको प्रतिमूर्ति




