काठमाडौं असाेज २५, जेनजी आन्दोलनका दिनहरू अझै देशको राजनीतिक इतिहासको सबैभन्दा तनावपूर्ण पानामा अंकित छन्। भदौ २३ गते, तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले आन्दोलनकारीमाथि गोली चलाउँदा १९ जना युवाको ज्यान गयो। त्यसपछि आन्दोलनले स्वरूप बदल्यो — जनताको आक्रोशले राजधानीदेखि गाउँसम्म आगो बल्यो।

बालुवाटारमा त्यसबेला सुरक्षा प्रमुखहरूको आकस्मिक बैठक चलिरहेको थियो। प्रधानमन्त्री ओली अझै अडानमै थिए — “राजीनामा दिँदिनँ।” उनी सिक्किम–भारत विलयको प्रसंग सुनाउँदै आफ्नो शैलीमा लामो व्याख्यान दिइरहेका थिए। तर बाहिर अवस्था हातबाहिर पुगिसकेको थियो। सेना प्रमुख अशोकराज सिग्देल लगातार खबर पठाइरहेका थिए — “स्थिति नियन्त्रणबाहिर छ, निर्णय गर्नुपर्छ।”

देउवा दम्पतीमाथि भीडको आक्रमणको समाचारले मात्रै ओलीलाई हल्लायो। त्यसपछि उनले राजीनामा दिने निर्णय गरे। तर त्यो निर्णय पनि ढिलो भयो। २४ गते प्रदर्शनकारीले बालुवाटार घेर्दा मात्र उनले राजीनामा पत्रमा हस्ताक्षर गरे। सेनाको हेलिकप्टरले उनलाई तत्कालै “सुरक्षित स्थान” लैजाने निर्णय भयो।

शिवपुरी होइन, हेटौंडा

त्यसपछि देशभर समाचार फैलियो — “ओलीलाई शिवपुरी व्यारेकमा राखिएको छ।” तर पछिल्लो पुष्टिअनुसार त्यो हल्ला मात्र रहेछ। वास्तवमा ओलीलाई सेनाले मकवानपुरतिर, कुलेखानी नजिकै सुरक्षित राखेको थियो। केही समय त्यहीँ बितेपछि उनी हेटौंडा क्षेत्रको सैन्य घेराभित्र सारिएका थिए।

राष्ट्रपति कुलेखानी पुगेका रहेछन्

प्रधानमन्त्री पद रिक्त भएपछि नयाँ सरकार गठनको विषयमा तातो दौड सुरु भयो। सुशीला कार्कीको नाम अगाडि आएको थियो, तर संविधान अनुसार नियुक्तिका लागि तत्कालीन प्रधानमन्त्रीको सिफारिस आवश्यक थियो।
त्यसैबेला राष्ट्रपति रामचन्द्र पौडेल आफैं हेलिकप्टर लिएर कुलेखानी पुगेका रहेछन्। त्यहाँ उनले ओलीसँग भेट गरेर कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने लिखित सिफारिस लिएका थिए।

कार्की मन्त्रिपरिषद्का एक सदस्यका शब्दमा  “राष्ट्रपतिज्यूले ओलीकै हस्ताक्षरसहितको सिफारिस लिएर फर्किनुभयो र त्यसपछि मात्र सुशीलाजी प्रधानमन्त्री बनिन्।”

कार्कीलाई प्रधानमन्त्री बनाउने प्रक्रिया सेनाको संयोजनमा भएको स्रोतहरूको भनाइ छ। सो छलफलमा काठमाडौं महानगरका मेयर बालेन शाहका प्रतिनिधि ओमप्रकाश अर्याल पनि सहभागी थिए — अहिलेका गृह मन्त्री यही व्यक्ति हुन्।

माओवादी केन्द्रका संयोजक प्रचण्डले पनि पछि खुलाए  “सुशीलाजीलाई प्रधानमन्त्री बनाउन सिफारिस गर्ने ओली नै हुन्। राष्ट्रपति उहाँकै सिफारिस लिएर फर्किनुभयो।”

सपथको रात

भदौ २७ गते राति, जलेको शीतल निवासको पछाडिको सानो भवनमा सुशीला कार्कीले प्रधानमन्त्रीको सपथ लिइन्। सपथमा उपस्थित एक मात्र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई थिए — उनका आफ्नै घरमा पनि आगजनी भइसकेको थियो।
ओली, प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल सबैजना त्यतिबेला शीतल निवासकै क्षेत्रमा रहेका भए पनि सपथ समारोहमा उपस्थित भएनन्।

त्यो रात, जनताको आक्रोशको बीचमा, एउटा नयाँ युगको सुरुवात भएको घोषणा भयो —
तर इतिहास भन्छ, त्यो दिनदेखि नेपालको सत्ता समीकरण फेरि कहिल्यै पहिले जस्तो रहेन।