प्रधानमन्त्री कार्की र अध्यक्ष दाहालबीच राष्ट्रियसभा निर्वाचनबारे परामर्श
२०८२ आश्विन २६, आईतवार १५:५७
काठमाडौं असाेज २६, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले प्रधानमन्त्री सुशीला कार्कीसँग आगामी राष्ट्रियसभा निर्वाचनका विषयमा विस्तृत परामर्श गरेका छन्।
आइतबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको भेटमा दाहालले फागुन २० गते एक तिहाइ सदस्यको कार्यकाल समाप्त हुन लागेको र संविधानअनुसार ३५ दिनअघि नै निर्वाचन सम्पन्न गर्नुपर्ने व्यवस्था रहेको कुरा उठाएका थिए।
भेटपछि सञ्चारकर्मीलाई जानकारी दिंदै अध्यक्ष दाहालले प्रधानमन्त्रीसँग राष्ट्रियसभा निर्वाचनको तयारीसँगै बैठक आह्वान गर्ने विषयमा पनि छलफल भएको बताए।
उनका अनुसार जेन-जी आन्दोलनका क्रममा आगजनीका कारण क्षतिग्रस्त भएको संसद भवनको मर्मत कार्य अन्तिम चरणमा पुगेपछि बैठक बोलाउने तयारी भइरहेको छ। साथै, प्रधानमन्त्रीसँग राष्ट्रियसभामा अलमलिएका विधेयकहरूबारे समेत समीक्षा गरिएको उनले बताए।
प्रधानमन्त्री कार्कीले भेटका क्रममा हालको संवेदनशील अवस्थालाई ध्यानमा राख्दै सबै राजनीतिक शक्तिहरू एकजुट भई देशलाई स्थायित्व र अघि बढाउने दिशामा लैजानुपर्ने आवश्यकता औंल्याएकी थिइन्।




