एमाले सचिवालयको निर्णय : “प्रतिनिधिसभा पुनःस्थापना अनिवार्य छ”
२०८२ आश्विन २६, आईतवार २२:०८
काठमाडौं असाेज २६,नेकपा (एमाले) को सचिवालय बैठकले प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै सरकारप्रति तीव्र आपत्ति जनाएको छ।
आइतबार पार्टी कार्यालय धुमबाराहीमा बसेको ५८औं सचिवालय बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै उपमहासचिव प्रदीप ज्ञवालीले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक कदमको रूपमा एमालेले औपचारिक रूपमा अस्वीकार गरेको जानकारी दिए।
‘यो बैठकले प्रतिनिधिसभा विघटनलाई संविधान र लोकतन्त्रको अपमान ठहर गरेको छ। असंवैधानिक रूपमा गरिएको यो कदम तुरुन्त बदर गरिनुपर्छ र प्रतिनिधिसभा पुनःस्थापना हुनुपर्छ भन्ने स्पष्ट माग गरिएको छ,’ ज्ञवालीले भने।
बैठकमा नेताहरूले हालको राजनीतिक अस्थिरता समाधानको एकमात्र उपाय संवैधानिक शासन व्यवस्थाको पुनर्स्थापना भएको निष्कर्ष निकालेका छन्। एमालेले देशलाई असंवैधानिक अभ्यासबाट जोगाउन सबै लोकतान्त्रिक शक्तिलाई एकताबद्ध हुन पनि आह्वान गरेको छ।
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सत्ताच्युत भएका थिए। त्यसपछि राजनीतिक असम्झदारी र सत्तासंघर्षका बीच प्रतिनिधिसभा विघटन गरिएको थियो। एमालेले त्यस घटनालाई ‘लोकतान्त्रिक प्रक्रियामाथिको प्रहार’ बताउँदै पुनःस्थापनाको माग अघि सारेको हो।
बैठकले आगामी राजनीतिक रणनीति र आन्दोलनको खाका तयार गर्न कार्यदल गठन गर्ने निर्णय पनि गरेको छ।




