देउवाले सुम्पिए कांग्रेसको बागडोर पूर्णबहादुरलाई
२०८२ आश्विन २८, मंगलवार १९:२०
२८ असोज, काठमाडौं । नेपाली कांग्रेसमा नेतृत्व हस्तान्तरणको प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ। सभापति शेरबहादुर देउवाले मंगलबार उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएसँगै अब आफूलाई अभिभावकीय भूमिकामा सीमित गर्ने घोषणा गरेका छन्।
जेनजी आन्दोलनपछि पार्टी पुनर्गठनको माग बढ्दै जाँदा देउवाले सक्रिय राजनीतिबाट फिर्ता हुने निर्णय लिएका हुन्। आफ्नो दोस्रो कार्यकालको अन्त्यतिर आइपुग्दा उनले नयाँ नेतृत्वलाई मार्ग प्रशस्त गर्दै पार्टीमा संक्रमणकालीन स्थायित्व दिन खोजेको देखिन्छ।
पार्टीको विधान अनुसार आगामी महाधिवेशनमा देउवालाई तेस्रो कार्यकालका लागि उम्मेदवार बन्न नपाउने प्रावधान छ। तर, जेनजी आन्दोलनको क्रममा स्वयम् आक्रमणमा परेका देउवाले स्वास्थ्य लाभपछि फर्केर पार्टीभित्र उठेका असन्तुष्टिहरूलाई सम्बोधन गर्ने प्रयास स्वरूप नेतृत्व जिम्मेवारी हस्तान्तरण गरेका हुन्।
अब देउवा कांग्रेसका ‘अभिभावक नेता’का रूपमा रहने छन् भने पूर्णबहादुर खड्काले पार्टीको नेतृत्व औपचारिक रूपमा सम्हाल्दै आगामी राजनीतिक दिशा तय गर्ने जिम्मेवारी पाएका छन्।




