अब ह्वाट्सएपमा फेसबुक जोड्न सकिने, मेटाको नयाँ सुविधा सार्वजनिक
२०८२ आश्विन २८, मंगलवार २२:००
काठमाडौं असाेज २८, मेटाले ह्वाट्सएप प्रयोगकर्ताका लागि नयाँ फिचर सार्वजनिक गर्दै अब फेसबुक अकाउन्ट पनि जोड्न सकिने व्यवस्था गरेको छ।
पहिले इन्स्टाग्राम मात्र लिंक गर्न सकिने यो सुविधा अब फेसबुकसम्म विस्तार गरिएको हो। यसले प्रयोगकर्तालाई आफ्नो पहिचान प्रमाणित गर्न र अरूसँग सहज रूपमा जोडिन मद्दत गर्ने मेटाको भनाइ छ।
हाल यो फिचर एन्ड्रोइडको बिटा संस्करणमा परीक्षण चरणमा छ। बिटा प्रयोगकर्ताहरूले भने उक्त सुविधा सफलतापूर्वक काम गरिरहेको पुष्टि गरेका छन्।
यसअघि यो सुविधा केवल ह्वाट्सएप बिजनेस अकाउन्टहरूमा मात्र सीमित थियो, जहाँ भेरिफाइड सोसल मिडिया लिङ्क मात्र देखिन्थे। अब भने सामान्य प्रयोगकर्ताले पनि आफ्नो फेसबुक प्रोफाइल ह्वाट्सएपमा जोड्न सक्नेछन्।
फेसबुक अकाउन्ट ह्वाट्सएपमा जोडिएपछि त्यसको लिंक प्रयोगकर्ताको प्रोफाइलमा देखिनेछ, जसले व्यक्तिगत र व्यावसायिक दुबै प्रकारका प्रयोगकर्तालाई थप पारदर्शिता र विश्वसनीयता प्रदान गर्ने अपेक्षा गरिएको छ।




