काठमाडौं असाेज २८, चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिनामा विदेशबाट नेपाल भित्रिएको रेमिट्यान्स रकम उल्लेखनीय रूपमा बढेको छ। 

नेपाल राष्ट्र बैंकका तथ्यांकअनुसार साउन र भदौ महिनासम्म कुल ३ खर्ब ५२ अर्ब ८ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ, जुन अघिल्लो वर्षको तुलनामा ३३.१ प्रतिशतले वृद्धि हो।

गत वर्षको सोही अवधिमा रेमिट्यान्स वृद्धि दर १५.८ प्रतिशतमा सीमित थियो। केवल भदौ महिनामा मात्र १ खर्ब ७४ अर्ब ६७ करोड रुपैयाँ विप्रेषण भित्रिएको राष्ट्र बैंकले जनाएको छ।

रोजगारी स्वीकृतिका तथ्यांक पनि उत्साहजनक देखिएका छन्। समीक्षा अवधिमा ९० हजार १९८ जना नयाँ वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिएका छन् भने ४५ हजार ८८४ जनाले पुनः स्वीकृति प्राप्त गरेका छन्। अघिल्लो वर्ष यो संख्या क्रमशः ७६ हजार ४८५ र ४० हजार ५८३ थियो।

विश्लेषकहरूका अनुसार वैदेशिक रोजगारीमा विस्तार र वैदेशिक मुद्राको उच्च आम्दानीले नेपालको चालु खाता सन्तुलनमा सकारात्मक प्रभाव पारेको छ। तर, दीर्घकालीन रूपमा वैदेशिक रोजगारीमा निर्भर अर्थतन्त्रलाई उत्पादनमुखी बनाउनुपर्ने आवश्यकता अझै देखिएको छ।