जेनजी आन्दोलनका क्रममा काेईराला निवास जलाएको घटनाविरुद्ध कांग्रेस मोरंगको ज्ञापनपत्र, तर जेनजी पुस्ता अनुपस्थित
२०८२ आश्विन २९, बुधबार १४:१२
विराटनगर, असोज २९ – भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा अराजक समूह र घुसपैठीहरूले गरेका आगजनी घटनाको विरोधमा नेपाली कांग्रेस क्षेत्र नं. ६, मोरंगले जिल्ला प्रशासन कार्यालयका प्रमुख इन्द्रदेव यादवमार्फत गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ।
कांग्रेस नेताहरूले कोइराला निवास, पार्टी केन्द्रीय कार्यालय र विभिन्न तहका पार्टी कार्यालयमा गरिएको आगजनीलाई “लोकतान्त्रिक आस्थामाथिको योजनाबद्ध आक्रमण” भन्दै दोषीहरूलाई कानुनी कारबाही गर्न माग गरिएकाे क्षेत्रीय सचिव लोकनाथ चौधरीले वताए ।
पार्टीका नेता–कार्यकर्ता र समर्थकहरूलाई व्यापक सहभागिताका लागि आह्वान गरिए पनि जिल्ला प्रशासन कार्यालय अगाडि अपेक्षाकृत न्यून उपस्थिति देखिएको थियो।
विशेष रूपमा, जेनजी आन्दोलनका विषयमा सक्रिय रहेकै पुस्ताका युवा कार्यकर्ताहरू कार्यक्रममा अनुपस्थित रहँदा पार्टीभित्र यसको कारणबारे प्रश्न उठ्न थालेका छन्।
पार्टीका नेताहरूले भने, “कांग्रेसका संस्थागत संरचनामाथि भएको आक्रमणलाई हल्का रूपमा लिन मिल्दैन, दोषीलाई कानून अनुसार कडा सजाय हुनुपर्छ।”





