जितेन्द्र प्रसाद सोनारलाई प्रदेशको नयाँ मुख्यमन्त्री
२०८२ आश्विन २९, बुधबार २१:५५
जनकपुरधाम, असोज २९ ,मधेश प्रदेशको राजनीतिक परिदृश्यमा नयाँ अध्याय खुलेको छ। प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले बुधबार जितेन्द्र प्रसाद सोनार (सोनल) लाई प्रदेशको नयाँ मुख्यमन्त्रीका रूपमा नियुक्त गरेकी हुन्।
संविधानको धारा १६८ को उपधारा (२) अनुसार भएको यो नियुक्तिले प्रदेश सरकारमा नयाँ शक्ति सन्तुलनको संकेत दिएको छ। सोनार, जो बारा क्षेत्रबाट निर्वाचित प्रदेशसभा सदस्य हुन्, अब मन्त्रिपरिषद् गठनको तयारीमा जुटेका छन्।
प्रदेश प्रमुख भण्डारीले उनलाई पद तथा गोपनीयताको शपथ ग्रहणको तयारी गर्न निर्देशन दिँदै बधाई समेत दिइन्।
उनले भनिन्, “प्रदेशमा राजनीतिक स्थायित्व र सहकार्यका लागि यो अवसर टर्निङ्ग पाेइन्ट बन्न सक्छ।”
सोनारले आफ्नो पहिलो प्रतिक्रिया दिँदै भने,
“जनताको अपेक्षाअनुसार सुशासन र विकासमा कुनै सम्झौता हुनेछैन। हामी प्रदेशलाई समावेशी र उत्तरदायी बनाउने दिशामा अघि बढ्नेछौं।
यससँगै मधेश प्रदेशको सत्ता समीकरण फेरि एकपटक परिवर्तन भएको छ। नयाँ मुख्यमन्त्रीले कुन दल वा समूहसँग हातेमालो गर्दै मन्त्रिपरिषद् बनाउनेछन् भन्ने जिज्ञासाले राजनीतिक वृत्त तातिएको छ।
स्थानीय विश्लेषकहरू भन्छन् “यो केवल पद हस्तान्तरण होइन, मधेशको शक्ति सन्तुलन पुनः लेखिँदैछ।”




