काठमाडौं असाेज ३०, केही महिना सुस्त देखिएको नेपाली सुन बजार असोज लाग्दै पुनः तात्न थालेको छ। अचानक बढेको मागसँगै बैंक र व्यापारीहरूले आयातको गति तीव्र पारेका छन्।

नेपालमा अहिले करिब ९३ केजी सुन मात्रै बाँकी रहेको सुनचाँदी व्यवसायी महासंघका अधिकारीहरूले जानकारी दिएका छन्। असोज महिनामा मात्र करिब चार सय केजी सुन आयात भइसकेको छ । साउन र भदौमा जम्मा दुई सय एक केजी मात्र सुन भित्रिएको थियो ।

व्यवसायीहरूका अनुसार अघिल्ला महिनामा सुनको कारोबार सुस्त थियो । तर असोजको आगमनसँगै विवाह सिजन र चाडपर्व नजिकिँदा बजारमा सुनको माग अचानक बढेको छ । “पहिले माग थिएन, अहिले त मागसँगै मूल्य पनि चलायमान छ,” एक व्यापारीले बताए ।

नेपाल राष्ट्र बैंकले २४ असोजमा दैनिक सुन आयात सीमा २० केजीबाट बढाएर २५ केजी पुर्‍याएपछि बजारमा नयाँ उत्साह देखिएको छ । अघिल्ला महिनामा भने २० केजीको सीमा हुँदा पनि पूर्ण रूपमा आयात नभएको जनाइएको थियो ।

विश्लेषकहरूका अनुसार अहिलेको माग वृद्धि केवल मौसमी कारण होइन, अन्तर्राष्ट्रिय बजारको असर पनि हो। विश्व बजारमा सुन सुरक्षित लगानीका रूपमा पुनः लोकप्रिय बन्दै जाँदा त्यसको प्रभाव नेपालमा समेत देखिएको हो ।

हाल आयात बढे पनि बजार आपूर्ति र मूल्य स्थिरतामा केही समय उतारचढाव रहने अनुमान गरिएको छ । चाँडपर्व नजिकिँदै जाँदा सुन बजारले पुनः “गोल्डेन सिजन” भेट्ने अपेक्षा गरिएको छ ।