भारतले दुई महिनादेखि सुन खरिद रोक्यो, अमेरिकी “सुन मूल्य पुनर्संयोजनको शंका बढ्दै
२०८२ आश्विन ३०, बिहीबार १२:२५
काठमाडौं असाेज ३०, विश्व बजारमा सुनको मूल्य लगातार नयाँ रेकर्ड तोडिरहेको बेला भारतको केन्द्रीय बैंक (आरबीआई) ले दुई महिनादेखि सुन खरिद कार्य रोक्ने निर्णय गरेको छ। आरबीआईको यो कदमले लगानीकर्तादेखि अर्थविश्लेषकसम्मको ध्यान तानेको छ।
भारतले यस्तो निर्णय लिनुको पछाडि विभिन्न कारण देखाइए पनि, आर्थिक वृत्तमा अहिले यो विषयलाई लिएर फरक–फरक अड्कलबाजी भइरहेका छन्। केही विश्लेषकहरूका अनुसार, अमेरिकाको सम्भावित “Bullion Reset” (सुन मूल्य पुनर्संयोजन) रणनीतिसँग भारतको यो कदम जोडिएको हुन सक्छ।
अर्थशास्त्रीहरू भन्छन्, अमेरिकाले आफ्नो बढ्दो कर्जा व्यवस्थापन गर्नका लागि सुनको मूल्य कृत्रिम रूपमा परिवर्तन गर्न सक्ने संकेत देखिएको छ। हाल अमेरिकाले आफ्ना सुन भण्डारलाई सन् १९७० को दशकमा तोकिएको दर ४२.२२ अमेरिकी डलर प्रति औंस मा लेखापरीक्षण गर्छ। तर अहिले बजार मूल्य त्यसको सयौं गुणा बढी छ।
यदि अमेरिकाले आफ्नो सुन भण्डारलाई नयाँ बजार दरमा पुनर्मूल्यांकन गर्ने निर्णय गर्छ भने, उसको सम्पत्ति ट्रिलियन डलर बराबर पुग्नेछ, जसले विश्व अर्थतन्त्रमा ठूलो हलचल ल्याउन सक्छ।
भारतसँग अहिले करिब ८८० टन सुन रहेको अनुमान छ, जुन देशको कुल विदेशी मुद्रा भण्डारको १२.५ प्रतिशत हिस्सा हो। उच्च मूल्यका कारण सुन खरिदले विदेशी मुद्रा सन्तुलनमा असर पार्न सक्ने भन्दै भारतले सावधानी अपनाएको बताइन्छ।
आरबीआईको यो निर्णयपछि विश्व बजारमा सुनको मागमा तत्काल केही दबाब देखिए पनि दीर्घकालीन रुपमा मूल्य अझै उच्च रहने अनुमान गरिएको छ। नेपालसहित दक्षिण एशियाली बजारमा पनि सुनको खुद्रा मूल्य निरन्तर वृद्धि हुँदै नयाँ रेकर्ड नाघेको छ।
आर्थिक विश्लेषकहरूको भनाइमा, भारतको यो निर्णय केवल मौद्रिक नीति होइन, सम्भावित विश्व आर्थिक पुनर्संरचनाको संकेत पनि हुन सक्छ।




