शेखर कोइरालाको धारणा : “नागरिकको आवाज नसुन्दा भदौ २३–२४ को घटना भयो”
२०८२ आश्विन ३०, बिहीबार २०:४५
काठमाडौं असाेज ३०, नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नागरिकको आवाज नसुन्दा भदौ २३ र २४ गतेका दुखद घटना घटेको बताएका छन्। उनले पार्टीको केन्द्रीय समितिको बैठकमा प्रस्तुत धारणा राख्दै पार्टी र देश दुबै अहिले गम्भीर मोडमा रहेको भन्दै गहिरो आत्ममूल्यांकनको आग्रह गरे।
कोइरालाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली र सुरक्षाकर्मीहरुप्रति सम्मान प्रकट गर्दै घाइतेहरुको उचित उपचार र पीडित परिवारलाई न्याय दिन राज्यप्रति आग्रह गरे। उनले बल प्रयोगका दोषीलाई कारबाही र लुटिएका हतियार तुरुन्त फिर्ता गराउन सरकारलाई चेतावनी दिए।
उनले भने, “हामीले नागरिकको आवाजलाई सुनेनौं, त्यसको परिणाम आज देखिरहेका छौं। लोकतान्त्रिक मूल्य केवल जित–हारको कुरा होइन, यो नागरिकप्रतिको सम्मान र जवाफदेहिताको मर्म हो।”
कोइरालाले संविधानलाई “अर्धमूर्छित अवस्थामा” रहेको भन्दै यसको रक्षा र पुनर्जीवन कांग्रेसकै जिम्मेवारी भएको बताए। उनले निष्पक्ष र भयरहित निर्वाचनको वातावरण बनाउन सरकारलाई चुनौती दिँदै भने, “त्रासमा बसेको समाजले निर्वाचनमा भाग लिन सक्दैन।”
भदौ २४ का तोडफोड, आगजनी र लुटपाटलाई अस्वीकार्य ठहर गर्दै उनले अपराधीलाई कानुनको कठघरामा ल्याउन जोड दिए।
उनको भनाइमा, “असामाजिक तत्वलाई उन्मुक्ति दिने कार्य कुनै पनि सभ्य समाजमा स्वीकार्य हुँदैन।”
आगामी १५औं महाधिवेशन मंसिरमै गर्नुपर्ने धारणा राख्दै उनले कांग्रेसलाई “नयाँ दिशा र नयाँ सम्भावनाको पार्टी” बनाउन नियमित अधिवेशन अपरिहार्य रहेको बताए। अनुशासन समितिबाट कारबाहीमा परेका कार्यकर्तालाई क्षमादान गरेर पार्टीभित्र एकता कायम गर्न पनि उनले माग गरे।
उनले निष्कर्षमा भने, “राष्ट्रको चेतना, विवेक र नैतिकता गुमाएर कांग्रेस अगाडि बढ्न सक्दैन। एकता नै हाम्रो बल हो। लोकतन्त्र हाम्रो जीवन पद्धति हो।”
डा. कोइरालाको प्रस्तुति कांग्रेसभित्र आत्मसमीक्षा र नयाँ मार्गनिर्देशनका रूपमा लिइएको छ।




