काठमाडौं, असोज ३० ,बजारमा १००० रुपैयाँ दरका नोटको चरम अभाव हुन थालेको छ। समयमै नयाँ नोट छपाइ नहुँदा बजारमा नगद संकट चर्किएको हो।

बैंक तथा वित्तीय संस्थाहरूमा हजार दरका नोट नहुँदा चेक साट्न समेत समस्या आएको छ। राष्ट्र बैंकले पछिल्ला वर्षहरूमा हजार दरका नोट छपाइ नगरेपछि अहिले प्रचलनमा रहेका नोटहरू पुराना र जीर्ण बनेका छन्। धेरै नोटहरू फाटफुट भएका कारण प्रयोग गर्नसमेत असहज भएको उपभोक्ताहरूले गुनासो गरेका छन्।

आर्थिक विश्लेषकहरूका अनुसार हजार दरका नोटको अभावले बजारमा तरलता सन्तुलनमा असर पारिरहेको छ। ठूला दरका नोट अभाव हुँदा साना दरका नोट प्रयोग बढेको छ, जसले कारोबारमा अतिरिक्त समय र लागत वृद्धि गरिरहेको छ।

राष्ट्र बैंकले जीर्ण नोट फिर्ता लिएर प्रतिस्थापन नगर्दा समस्या झन् गम्भीर बनेको हो। मुद्रास्फीति बढ्दो क्रममा रहँदा ठूला दरका नोटको प्रयोग आवश्यक पर्ने भएकाले तत्काल नयाँ नोट छपाइ सुरु गर्न आवश्यक रहेको अर्थविद्हरूको सुझाव छ।

बैंकहरूले भने राष्ट्र बैंकलाई तत्काल आपूर्ति बढाउन आग्रह गरेका छन्।