सगरमाथा क्षेत्रमा हिमबाढीको जोखिम बढ्दो
२०८२ आश्विन ३१, शुक्रबार ११:४३
३१ असोज, काठमाडौं, सगरमाथा क्षेत्र र दुधकोशी नदी बेसिनलाई हिमबाढीको अति संवेदनशील क्षेत्रका रूपमा चिनिएको छ। हालै गरिएको अध्ययनमा सोलुखुम्बुको थामे क्षेत्रमा गत वर्ष आएको हिमबाढी (ग्लेसियर लेक आउटबर्स्ट फ्लड – GLOF) लाई जलवायु परिवर्तनको प्रत्यक्ष प्रभावका रूपमा प्रस्तुत गरिएको छ।
विज्ञहरूका अनुसार थामे क्षेत्रमा आएको बाढी जटिल भू–आकृतिको श्रृंखला र बढ्दो तापक्रमका कारण विनाशकारी बनेको थियो। अध्ययनले विशेष रूपमा रिन्धी च्छो ताललाई उच्च जोखिममा राखेको छ। उक्त तालको बाँधमा पहिल्यै क्षति देखिएको र सानो चिरा परे पनि ठूलो बाढीको सम्भावना रहेको जनाइएको छ।
अध्ययनकर्ताले तुरुन्त कार्यान्वयन गर्न सकिने केही उपाय सुझाएका छन्। तीमा चिरा परेका स्थानमा पानी पस्न नदिने प्रविधि प्रयोग गर्ने, दीर्घकालीन बाढी जोखिम व्यवस्थापन योजना तयार गर्ने र उच्च हिमाली क्षेत्रहरूको निगरानी प्रणाली सुदृढ गर्ने कार्यलाई प्राथमिकता दिनुपर्ने सुझाव दिइएको छ।
जलवायु परिवर्तनका कारण सगरमाथा क्षेत्रका हिमतालहरू विस्तार भइरहेका बेला स्थानीय तथा संघीय निकायबीच समन्वय गरी तत्काल तयारी थाल्न विज्ञहरूले आग्रह गरेका छन्।




