काठमाडौं असाेज ३१, नेकपा (एमाले)की केन्द्रीय सदस्य उषाकिरण तिम्सिनाले अध्यक्ष केपी शर्मा ओलीलाई राजीनामा दिन आग्रह गरेकी छिन्। ललितपुरको भनिमण्डलस्थित रामबाघ महलमा जारी केन्द्रीय कमिटी बैठकमा बोल्दै उनले मुलुकको राजनीतिक गतिरोध अन्त्य गर्न ओलीको राजीनामा अपरिहार्य भएको बताइन्।

तिम्सिनाले भनिन्, “अहिले देशको मुख्य कार्यभार दलहरूको पुनर्गठन हो। कांग्रेसमा त्यो सुरु भइसकेको छ। अब अध्यक्षले राजीनामा गरेर मुलुकको राजनीतिक गतिरोधको ढोका खोल्नुपर्छ। यही संरचना लिएर चुनाव वा आन्दोलनमा जान सकिँदैन।”

उनले ओलीलाई अब “अभिभावकको भूमिकामा जानुहोस्, त्यसले देशभर सकारात्मक सन्देश दिनेछ,” भन्दै आग्रह गरिन्।

वाम आन्दोलनका बीते ११ वर्षको समीक्षा गर्दै उनले प्रश्न गरिन्, “अध्यक्ष ओलीको नेतृत्वमा वाम आन्दोलन र सिंगो कम्युनिस्ट आन्दोलन कहाँ पुग्यो ? नेकपा गठन एक ऐतिहासिक कदम थियो, तर त्यसपछि हामीले कस्ता विनाशकारी अभ्यास गर्‍यौँ, सम्झन जरुरी छ। नागरिकमा निराशा त्यहीँबाट सुरु भएको हो।”

जेनजी आन्दोलनको घटनाबारे पनि तिम्सिनाले कठोर प्रश्न उठाइन्। उनले भनिन्, “साना नानीहरूको ज्यान गयो, खर्बौंको सम्पत्तिमा आगलागी भयो—त्यसको नैतिक जिम्मा कसले लिने ? गोली चलाउने हवल्दारले ? आईजीपीले ? कि तत्कालीन प्राधिकारले ?”

उनको भनाइ अनुसार, पार्टी र देश दुबैको उन्मुक्तिका लागि अब “आत्ममूल्यांकन र नेतृत्व परिवर्तन” समयको माग बनेको छ।