काठमाडौं, असोज ३१,भदौ २३ र २४ गतेको दुईदिने जेन–जी आन्दोलनले देशलाई अराजकतातर्फ धकेर्‍यो। ऐतिहासिक संरचना जले, ७६ जनाले ज्यान गुमाए र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सत्ता छाड्न बाध्य भए। आन्दोलनका पाँच हप्तापछि नेपाली सेनाले प्रेस सम्मेलन गरी दस बुँदामा स्पष्टीकरण सार्वजनिक गरेको छ।

१. सिंहदरबार किन जले ?

सेनाका उपरथी अनुप जंग थापाका अनुसार त्यतिबेलाको अवस्थालाई हेर्दा ‘मानवीय सुरक्षा’लाई प्राथमिकता दिइएको थियो। सिंहदरबार जोगाउन ४६ राउन्ड हवाइ फायर गरिएको र अराजक भिड नहटेपछि ठूलो मानवीय क्षति टार्न सेनाले संयमता अपनाएको उनले बताए

२. आगो निभाउन किन ढिलाइ भयो ?

सहायक रथी मनोज थापाले आन्दोलनकारीहरूले दमकलको पाङ्ग्रामा चढेर रोक्दा तत्काल आगो निभाउन नसकिएको बताए। दोहोरो प्रयासपछि दिउँसो २ बजेर ३५ मिनेटमा आगो नियन्त्रणमा लिइएको उनले स्पष्ट गरे।

३. डाटा सेन्टर कसरी बच्यो ?

रक्षा मन्त्रालय, अर्थ मन्त्रालय र राष्ट्र सुरक्षा परिषद् रहेका तीन डाटा सेन्टर जोगाउन सैनिक, प्रहरी र दमकल टोलीले लगातार १८ घण्टा काम गरेको सेनाले जनाएको छ। सेनाका अनुसार, डाटा सेन्टर सुरक्षित रहँदा देशको वित्तीय प्रणाली ठप्प हुनबाट जोगियो।

४. महानगरको दमकल नपुगेको आरोप असत्य

सेनाले काठमाडौं महानगरपालिकाको दमकल राति ८ बजे नै पुगेको बताएको छ। अवरोध र चालकको कमीका कारण ढिलाइ भएको तर महानगरले सक्रियतापूर्वक सहयोग गरेको स्पष्ट गरिएको छ।

५. हिल्टन होटलमा ढिलाइको कारण

होटलको उचाइका कारण दमकलका पाइप नपुगेकाले आगो निभाउन ढिलाइ भएको सेनाले जनाएको छ।

६. विमानस्थलमा दुर्घटना टर्‍यो

विमानस्थलमा जिलेटिन बोकेर पुगेको समूहलाई सेनाले नियन्त्रणमा लिएर ठूलो दुर्घटना टारेको जनाएको छ। विमानस्थल सुरक्षित रहेकाले नेपालको अन्तर्राष्ट्रिय छवि जोगिएको सेनाको दाबी छ।

७. दुर्गा प्रसाईंसँग वार्ता किन भयो ?

सेनाले तत्कालीन अवस्थाको वस्तुगत मूल्याङ्कनका आधारमा संवाद पहल भएको बताएको छ। “सेनाले राजनीति गर्दैन, शान्ति र अमनचयन कायम गर्न संवाद आवश्यक थियो,” उपरथी थापाको भनाइ।

८. सेनाभित्र विद्रोहको हल्ला असत्य

पूर्व माओवादी लडाकुहरू सेनाभित्र विद्रोह गर्न लागेको हल्ला असत्य भएको सेनाले प्रष्ट पार्‍यो। सेनाले आफू एकढिक्का र अनुशासित रहेको दाबी गर्‍यो।

९. पशुपतिमा आक्रमणको प्रयास भएको पुष्टि

२४ भदौको साँझ पशुपति मन्दिरतर्फबाट आक्रमण प्रयास भएको र सेनाले समयमै नियन्त्रणमा लिएको विवरण सेनाले सार्वजनिक गरेको छ।

१०. फागुन २१ मा चुनाव सम्भव

सेनाले चुनावको विकल्प नरहेको भन्दै सुरक्षा चुनौतीबीच पनि जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता जनाएको छ। गृह मन्त्रालयमा शान्ति–सुरक्षा समन्वय समिति गठन भइसकेको पनि बताइएको छ।

सेनाले अन्त्यमा भनेको छ — “नेपाली सेना देशको सार्वभौमिकता, शान्ति र स्थायित्वका लागि सदैव प्रतिबद्ध छ।”