काठमाडौं, कार्तिक १, ‘गरिखान देउ’ अभियानका संयोजक मिराज ढुंगानाले नयाँ राजनीतिक दल गठन गर्ने घोषणा गरेका छन्। जेन–जी आन्दोलनपछि देशमा उत्पन्न नयाँ राजनीतिक अवसरलाई उनले संगठनात्मक रूप दिन लागेका हुन्।

शुक्रबार सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै ढुंगानाले नयाँ दलको तयारी सुरु भएको र त्यसका लागि वार्ता समिति गठन भइसकेको जानकारी दिएका छन्। उनका अनुसार देशको राजनीतिक दिशामा नयाँ सोच र विकल्प प्रस्तुत गर्ने उद्देश्यका साथ दल गठनको प्रक्रिया अघि बढाइएको हो।

ढुंगानाले भने, “हामीले सुरु गरेको ‘गरिखान देउ’ अभियान अब जनताको आवाजलाई राजनीतिक स्वरूप दिनुपर्ने अवस्था आएको छ। देशमा देखिएका समस्याको समाधानका लागि नयाँ दल आवश्यक छ।”

उनले हाल विद्यमान राजनीतिक शक्तिहरूले जनताको आशा पूरा गर्न नसकेको आरोप लगाउँदै नयाँ पुस्ताको नेतृत्वमा जिम्मेवार र कार्यमुखी राजनीति गर्ने प्रतिवद्धता व्यक्त गरे।

वार्ता समितिले दलको नाम, नीति तथा प्रारम्भिक घोषणापत्र तयारीमा जुट्ने जनाएको छ।
ढुंगानाले निकट भविष्यमै सार्वजनिक भेलामार्फत नयाँ दलको औपचारिक घोषणा गर्ने तयारी पनि गरेका छन्।