बुढीगंगाले ८० अस्थायी कर्मचारीलाई कार्यमुक्त गर्ने निर्णय
२०८२ कार्तिक १, शनिबार १५:१७
बाजुरा कार्तिक १, बुढीगंगा नगरपालिकाले करार तथा ज्यालादारी सेवामा कार्यरत करिब ८० जना अस्थायी कर्मचारीलाई कार्तिक १ गतेदेखि कार्यमुक्त गर्ने निर्णय गरेको छ।
नगरपालिकाको ४९औँ कार्यपालिका बैठक तथा चालु आर्थिक वर्षको तेस्रो बैठकबाट उक्त निर्णय पारित गरिएको हो। नगर प्रवक्ता तथा वडा नम्बर ६ का अध्यक्ष हेमराज जैशीका अनुसार, नगरपालिकाको आन्तरिक आम्दानी कमजोर हुनु र प्रदेश तथा सङ्घ सरकारबाट अपेक्षित आर्थिक सहयोग नआएपछि कर्मचारीको म्याद थप गर्न नसकिएको हो।
जैशीले बताए अनुसार, नगरपालिकाले विगत केही वर्षदेखि सीमित स्रोत र बजेटमा सेवाप्रवाह गर्दै आएको भए पनि हाल बजेट अभाव चर्किँदै गएपछि यो कदम चाल्न बाध्य भएको हो।
कार्यमुक्त हुने कर्मचारीहरूमा स्वास्थ्य, प्राविधिक, प्रशासनिक तथा सहायक तहका कर्मचारीहरू रहेका छन्। यस निर्णयले नगरका दैनिक प्रशासनिक तथा विकास गतिविधिमा केही असर पर्ने आशंका स्थानीयले व्यक्त गरेका छन्।
यसैबीच, नगरपालिकाले आगामी दिनमा बजेटीय अवस्था सुधार भएपछि आवश्यकताअनुसार पुनः अस्थायी दरबन्दी खुलाउने योजना बनाएको जनाएको छ।




