विप्लव नेतृत्वको नेकपाले माओवादीसहित सबै कम्युनिष्ट पार्टीसँग एकताको पहल गर्ने निर्णय
२०८२ कार्तिक २, आईतवार २१:२२
काठमाडौं कार्तिक २, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले माओवादी केन्द्रसहित देशका सबै कम्युनिष्ट शक्तिसँग एकताको पहल गर्ने निर्णय गरेको छ।
असोज २६ देखि ३० गतेसम्म बसेको केन्द्रीय समिति बैठकले एकता प्रयासलाई औपचारिक रूपमा अघि बढाउने निर्णय गरेको हो। पार्टीले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी बैठकका निष्कर्ष सार्वजनिक गरेको छ।
बैठकले हालको राजनीतिक परिस्थितिमा, विशेषगरी जेनजी आन्दोलनपछि, कम्युनिष्ट शक्तिहरूबीच वैचारिक र संगठनात्मक एकता अपरिहार्य भएको निष्कर्ष निकालेको छ। नेकपाको भनाइमा, “सिर्फ संगठनात्मक रूपमा एउटै ढाँचामा सीमित भएर होइन, राजनीतिक विचार, कार्यदिशा, कार्यक्रम, संगठनात्मक मान्यता, आर्थिक जीवनशैली र सांस्कृतिक मूल्यसम्मको सहकार्य आवश्यक छ।”
पार्टीले समाजवादी मोर्चामा आबद्ध दल, माओवादी घटक र अन्य कम्युनिष्ट पार्टीहरूसँग छलफल र सहकार्य बढाउने र आफ्नो तर्फबाट योगदान गर्न तयार रहने निर्णय गरेको जनाएको छ।
राजनीतिक विश्लेषकहरूले विप्लव नेतृत्वको यो निर्णयलाई नेपालको कम्युनिष्ट आन्दोलनमा नयाँ आयाम थप्न सक्ने संकेतका रूपमा लिएका छन्। जेनजी आन्दोलनपछि कम्युनिष्ट दलहरूबीच देखिएको वैचारिक दूरी र विभाजनका कारण यस्तो पहलले एकताका सम्भावनालाई पुनः जीवित बनाएको ठानिएको छ।
तर, केहीले यसलाई केवल कूटनीतिक चाल वा राजनीतिक लाभका लागि गरिएको रणनीति पनि ठानिरहेका छन्। विगतमा पटक–पटक भएका एकता प्रयास असफल भएको स्मरण गर्दै उनीहरूले व्यवहारिक चुनौती अझै पनि रहिरहेको बताएका छन्।
यद्यपि विप्लव समूहले सबै कम्युनिष्ट घटकसँग खुला संवाद र सहकार्यको तयारी देखाएकोले, आगामी दिनमा वाम एकताका नयाँ सम्भावनाबारे राजनीतिक वृत्तमा चर्चा तीव्र हुने अनुमान गरिएको छ।




