मुस्ताङ, कार्तिक ३ — असोज महिनामा मुस्ताङमा आन्तरिक तथा विदेशी पर्यटकको घुइँचो देखिएको छ।

 स्थानीय प्रहरी नायव उपरीक्षक छिरिङ किप्पा लामाका अनुसार, सो महिनामा ७५ हजार ५९९ पर्यटकले यहाँको प्राकृतिक र धार्मिक सौन्दर्यको अवलोकन गरेका छन्।

विशेषगरी मुक्तिनाथ दर्शन, कोरलाना, लोमान्थाङ दरबार, छोसेर गुफा, ढुम्बाताल, ठिनी, जोमसोम–मार्फा बस्ती र निलगिरि तथा धौलागिरि हिमशृंखलाले पर्यटकलाई आकर्षित गरेको छ।

बेनी–जोमसोम सडक मार्ग हुँदै असोजमा ६५ हजार ७४० आन्तरिक र ९ हजार ८५९ विदेशी पर्यटक मुस्ताङ प्रवेश गरेका थिए। त्यसमध्ये असोज २१–३१ सम्मको १० दिनको अवधिमा मात्रै ४९ हजार ३७१ पर्यटक भित्रिएका थिए।

 उपल्लो मुस्ताङको भ्रमण गर्ने पर्यटक संख्या आन्तरिक र बाह्य गरी १४ हजार ३८९ पुगेको प्रहरीले जनाएको छ।

गत वर्षको तुलनामा यसवर्ष पर्यटकको संख्या २०.८५ प्रतिशतले घटेको देखिएको छ। साउनदेखि असोजसम्म कुल १ लाख १८ हजार ६८९ पर्यटक मुस्ताङ भित्रिएका थिए।

आर्थिक वर्ष २०८१/८२ मा मुस्ताङ भ्रमण गर्ने आन्तरिक तथा बाह्य पर्यटकको संख्या सात लाख पाँच हजार ७७९ पुगेको थियो, जसमा ५ लाख ५५ हजार ३२६ आन्तरिक र १ लाख ५० हजार ४५३ विदेशी पर्यटक थिए।

मुस्ताङको प्राकृतिक सुन्दरता र सांस्कृतिक धरोहरले यस क्षेत्रलाई आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख गन्तव्य बनाइरहेको छ।