श्रीमान् अध्यक्ष, श्रीमती उपाध्यक्ष : निर्वाचन आयोगमा पुगे “राष्ट्रिय जेन–जी पार्टी”
२०८२ कार्तिक ३, सोमबार २३:५२
काठमाडौं कार्तिक ४ मंगलबार , जेन–जी आन्दोलनको लहर अब सडकमात्र होइन, निर्वाचन आयोगसम्म पुगेको छ। सोमबार बिहान, सिंहदरबार नजिकैको आयोगको गेटमा युवा समूहको हलचल थियो — कोही झोला बोकेका, कोही मोबाइलमा लाइभ गर्दै, कोही उत्साहित मुद्रामा सेल्फी लिँदै।
कारण थियो — “राष्ट्रिय जेन–जी पार्टी” दर्ताका लागि निवेदन।
५३९ नम्बरमा दर्ता भएको यस नयाँ दलका अध्यक्ष छन् किरण विक (हिरा प्रसाद सेती) — जेन–जी आन्दोलनमा सक्रिय, सधैं नारा लगाउने अग्रपंक्तिका युवक। र, झन् राेचक कुरा — पार्टीकी उपाध्यक्ष मुना विक, उनको पत्नी।
दल दर्ता भएपछि किरण विकले भने,
“जेन–जी क्रान्तिले युवाको मुटुमा आगो जगाएको छ। अब त्यो आगो राजनीतिमा उज्यालो बन्नुपर्छ।”
पार्टीले निर्वाचन चिह्नका लागि ‘क्रस खुकुरी’ मागेको छ, तर आयोगले त्यो “थोरै धारिलो” भएको भन्दै परिवर्तनको सुझाव दिएको छ।
नयाँ दलको टोलीमा महासचिव गोपाल आचार्य, सचिवहरूमा सञ्जु नेपाली, मोहम्मद आयातुल्ला रहमान, र होम श्रेष्ठ छन्।
यीमध्ये होम श्रेष्ठ र किरण विक दुवै जेन–जी आन्दोलनका “पहिलो पंक्तिका आवाज” हुन्।
किरणले त दलित अधिकार र युवा सशक्तीकरणका अभियान पनि अघि बढाइरहेका छन्।
राजनीतिक विश्लेषकहरू भन्छन् —
“अबको राजनीति पनि जेन–जीले रिमिक्स गर्न थालेको छ।”
एकछिनका लागि आयोगको परिसर साँच्चै नयाँ पुस्ताको राजनीतिक फोटो स्टुडियो बनेको थियो — जहाँ श्रीमान् अध्यक्ष र श्रीमती उपाध्यक्षको जोडीले नयाँ राजनीतिक ‘पोस्टर’ टाँसेका थिए।




