काठमाडौं, कात्तिक ४ ,जेनजी आन्दोलनले मुलुकको सत्ता समीकरण उल्ट्याएपछि अब नेपाली कांग्रेसभित्र पनि नेतृत्व र दिशाको नयाँ समीकरण खोज्ने प्रयास तीव्र बन्दै गएको छ।

सभापति शेरबहादुर देउवा उपचारमा रहँदा पार्टीभित्र ‘नयाँ नेतृत्व’ को माग खुलेर उठेको छ। पार्टीभित्रको असन्तुष्टि देउवाको अस्थायी विश्रामपछि अझ प्रष्ट भएको छ। उनले २८ असोजमा उपसभापति पूर्णबहादुर देउवालाई कार्यवाहक तोकेपछि कांग्रेसमा अबको यात्रा कुन दिशामा जान्छ भन्ने प्रश्न तीव्र बनेको छ।

‘विशेष महाधिवेशन’ माग्दै ५३ प्रतिशत प्रतिनिधिको हस्ताक्षर बुझाउने समूहले तत्काल नेतृत्व फेर्ने दबाब दिइरहे पनि संस्थापन पक्ष भने ‘नियमित प्रक्रियाबाटै’ अघि बढ्नुपर्ने पक्षमा छ।
कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महत भन्छन्, “जेनजी पुस्तालाई समेट्न नयाँ क्रियाशील सदस्यता आवश्यक छ। वडास्तरदेखि सबै तहमा अधिवेशनको प्रक्रिया पूरा नगरी महाधिवेशन सम्भव छैन।”

संस्थापन नेताहरूको भनाइमा ‘विशेष महाधिवेशन’ पुराना प्रतिनिधिहरूले मात्र गर्ने भएकाले नयाँ पुस्ताको प्रतिनिधित्व सुनिश्चित हुँदैन। त्यसैले उनीहरू ‘नियमित महाधिवेशन’ नै उपयुक्त ठान्छन्।

मंसिरमै महाधिवेशन गर्ने भनिए पनि तयारीको अभाव र सदस्यता नवीकरण अधुरो हुँदा त्यसको सम्भावना धमिलिएको छ।
महामन्त्री गगनकुमार थापाको रिपोर्टअनुसार ७० प्रतिशत सदस्यता नवीकरण टुंगिएको छ

 भने बाँकी ३० प्रतिशतका लागि अझ १५ दिन आवश्यक छ।
“नयाँ सदस्यता वितरण अझै सुरु भएको छैन,” एक केन्द्रीय सदस्यले भने, “त्यसैले मंसिरमा महाधिवेशन असम्भवजस्तै छ।”

संस्थापन पक्षीय नेताहरूले आगामी प्रतिनिधि सभा निर्वाचनसँग तालमेल गर्दै महाधिवेशनको मिति तोक्ने संकेत गरेका छन्।
“चुनाव फागुनमा भयो भने वैशाखमा महाधिवेशन हुन्छ, र चुनाव वैशाखमा सर्‍यो भने फागुनमै महाधिवेशन सम्भव हुन्छ,” एक वरिष्ठ नेताको भनाइ छ।

पार्टीभित्रका नेताहरूका अनुसार नेतृत्वले हस्ताक्षरकर्ताको मागलाई ‘सेफ ल्यान्डिङ’ गर्ने रणनीति बनाएको छ — अर्थात्, तत्काल मिति घोषणा गरेर पछि विस्तार गर्ने।
केन्द्रीय सदस्यहरूले पनि स्वीकारेका छन्, “सबैलाई थाहा छ, मंसिरमा महाधिवेशन सम्भव छैन, तर जनमतलाई सन्तुलन गर्न नेतृत्वले लचिलो रणनीति लिएको छ।”

नेता नैनसिंह महरका शब्दमा, “कांग्रेससामु जेनजी पुस्तालाई मूलप्रवाहमा ल्याउने चुनौती छ। त्यसका लागि तल्लो तहदेखि नियमित अधिवेशन अपरिहार्य छ।”
महरले पदाधिकारीहरू सदस्यता नवीकरणमा सक्रिय नभएको र छोटो समयमा त्यो पूरा गर्न कठिन हुने टिप्पणी गरे।

कात्तिक १३ गते बस्ने भनिएको बैठकमा कांग्रेसको महाधिवेशनको मिति र स्वरूपबारे अन्तिम टुंगो लाग्ने अपेक्षा छ।
सूचना विभाग प्रमुख मीन विश्वकर्माका अनुसार, “मंसिरमा महाधिवेशन गर्ने प्रयास भइरहे पनि अन्तिम निर्णय कात्तिक तेस्रो साताभित्र हुनेछ।”

अहिलेको संकेत स्पष्ट छ — जेनजी आन्दोलनले देशको सत्ता मात्र होइन, कांग्रेसभित्रको शक्ति सन्तुलन पनि हल्लाइदिएको छ। 

अबको प्रश्न एउटै छ —
कांग्रेस नयाँ पुस्तासँग मिलेर पुनर्जागरणको बाटो लिन्छ कि पुरानै संरचनामा अड्किन्छ ?