मिथिलामा छठ पर्वको रौनक सुरु : जनकपुरका घाटहरू बत्ती र फूलले झिलिमिली
२०८२ कार्तिक ८, शनिबार ०८:३०
धनुषा, ८ शनिबार कात्तिक २०८२ — मिथिला क्षेत्रको सबैभन्दा ठूलो धार्मिक पर्व छठ आजदेखि औपचारिक रूपमा सुरु भएको छ। जनकपुरधामका गङ्गासागर, धनुषसागर, दशरथ तलाउ, अरगजा सर र मटकोरर्वा पोखरीलगायतका घाटहरूलाई सिँगार्ने काम अहिले अन्तिम तयारीमा पुगेको छ।
गङ्गासागर छठ समितिका अध्यक्ष हरिनारायण गुप्ताका अनुसार, यो वर्ष पनि घाटको आधा भागमा आकर्षक सजावट गरिएको छ। “यसपटक व्यवस्थापन र सरसफाइ दुवै विगतभन्दा राम्रो बनाइएको छ,” उनले बताए। समितिले प्रत्येक अर्घका लागि रु ६०० सहयोग शुल्क निर्धारण गरेको छ, जसबाट सजावट र व्यवस्थापन खर्च उठाइनेछ।
गङ्गासागरमा अहिले पण्डाल टाँग्ने काम अन्तिम चरणमा पुगेको छ भने रंगीन बत्तीको सजावटले साँझको दृश्यलाई झनै मनमोहक बनाउने तयारी छ। त्यहाँ तीनवटा समितिहरूले एकसाथ तयारी गरिरहेका छन्।
त्यस्तै, अरगजा सरमा पनि समितिका सचिव वीरेन्द्र कर्णको नेतृत्वमा सरसफाइ र घाट निर्माण तीव्र रूपमा भइरहेको छ। कर्णका अनुसार यो पोखरीमा पाँच हजारभन्दा बढी श्रद्धालुहरू अर्घ दिने अपेक्षा गरिएको छ। “यहाँ हिन्दू मात्र होइन, मुस्लिम समुदायका दाजुभाइहरू पनि श्रद्धापूर्वक सहभागी हुन्छन्,” उनले बताए।
छठ पर्व पूर्ण रूपमा घरेलु उत्पादनमा आधारित हुने भएकाले जनकपुरका बजारहरूमा अहिले माटो र बाँसका सामग्री किन्न आउनेहरूको भीड लागेको छ। घैँटो, हात्ती, सूप, कनसुपती, टोकरी, नाङ्लो जस्ता सामग्रीहरू विक्रेताहरूले सडकछेउमै प्रदर्शन गरेका छन्।
चार दिनसम्म मनाइने यस पर्वको आज पहिलो दिन ‘नहाय–खाए’ बाट सुरुवात भएको छ। दोस्रो दिन ‘खरना’ का रूपमा बर्तालुहरूले रातमा खीर पकाई अर्पण गर्छन्। तेस्रो दिन अस्ताउँदो सूर्यलाई ठेकुवा, भुसवा, केराको घरी र माटोका पात्रोहरूका साथ अर्घ दिइन्छ भने चौथो दिन बिहान उदाउँदो सूर्यलाई अर्घ अर्पण गरी पर्वको समापन गरिन्छ।
जनकपुरधाम अहिले श्रद्धा, भक्ति र रंगीन प्रकाशले झलमलाएको छ। घाटमा घुइँचो लाग्न थालेको छ, र मिथिलाञ्चल फेरि एकपटक सूर्य आराधनाको छायाँमा रमाउन तयार छ।




