काठमाडौं कार्तिक ९ आईतवार , गृहमन्त्री ओमप्रकाश अर्यालले विभिन्न मागसहित सडकमा उत्रिएका समूहलाई प्रदर्शनको बाटो छोडेर संवादमा आउन आग्रह गरेका छन्।

 प्रधानमन्त्री निवास बालुवाटारमा सुरक्षा निकायका प्रमुखहरूसँगको छलफलपछि उनले सरकार सबै राजनीतिक मागहरू संवादको माध्यमबाट समाधान गर्न इच्छुक रहेको स्पष्ट पारे।

गृहमन्त्री अर्यालले भने, “राजनीतिक माग सडकमा होइन, संवाद टेबलमा समाधान हुन्छ। सरकार त्यसका लागि तयार छ, त्यसैले अनावश्यक तनाव सिर्जना नगरी वार्तामा आउनुहोस्।”

उनले लोकतान्त्रिक अधिकार प्रयोग गर्दा अरूको हक हनन नहुने र सार्वजनिक सम्पत्तिमा क्षति नपुग्ने गरी आचरण गर्न प्रदर्शनकारीहरूलाई सचेत गराए।

“सार्वजनिक वा निजी सम्पत्तिमा क्षति पुर्‍याउने कार्य स्वीकार्य छैन। हिंसात्मक गतिविधिबाट टाढा रहन सबै राजनीतिक शक्ति र आन्दोलनकारीहरूलाई अनुरोध गर्छौं,” उनले भने।

बालुवाटारमा सम्पन्न सुरक्षा बैठकमा देशको समग्र सुरक्षा अवस्थाको सूक्ष्म विश्लेषण गरिएको बताउँदै गृहमन्त्रीले सरकार चुनावको तयारी र शान्ति–सुरक्षाको वातावरण सुदृढ पार्न केन्द्रित रहेको जानकारी दिए।

🔸 विराटपाटी अनलाइन समाचार डेस्क