विराटनगर कार्तिक १० साेमवार, छठ पर्व सूर्यको आराधनाको पर्वको हो, जसले हिन्दु धर्ममा विशेष स्थान प्राप्त गरेको छ। हिन्दुले मान्ने देवतामा सूर्य यस्ता देवता हुन्, जसलाई मूर्त रूपमा देखिन्छ। सूर्यको शक्तिको मुख्य स्रोत उनकी पत्नी उषा र प्रत्युषा हुन्। छठमा सूर्यका साथै यी दुवै शक्तिको संयुक्त पूजा गरिन्छ।

छठ षष्टीको अपभ्रंश हो। कात्तिक मास आमावश्या तिहारको चार दिनपछि यो पर्व आउँछ। चारदिने व्रतको सबैभन्दा कठिन र महत्त्वपूर्ण रात्रि कात्तिक शुक्ल षष्टीको दिन हो। यो पर्वको नामाकरण छठ व्रत रह्यो।

वैज्ञानिक पक्ष

षष्टी तिथि (छठ) एक विशेष खगोलीय अवसर हो, जुन समय सूर्यको परावैजनी किरण पृथ्वीको सतहमा सामान्यभन्दा धेरै मात्रामा एकत्र हुन्छ। यसको सम्भावित कुप्रभावले मानिसको यथासम्भव रक्षा गर्ने सामर्थ्य राख्छ। सूर्य (तारा) प्रकाश (परावैजनी किरण) को प्रभावले जीवजन्तुको रक्षा सम्भव हुन्छ, जसले पृथ्वीका जीवलाई धेरै लाभ मिल्न सक्छ। सूर्यको प्रकाश साथै परावैजनी किरणसँगै चन्द्रमा पृथ्वीभर फैलिन्छ। सूर्यको प्रकाश पृथ्वीमा आइपुग्नुभन्दा पहिले वायुमण्डलमा मिल्छ । वायुमण्डलमा प्रवेश गर्दा उसले आयनमण्डलमा मिल्नुपर्छ र परावैजनी किरणको उपयोग गर्दै वायुमण्डलमा आफ्नो अक्सिजन तत्व संश्लेषित गर्दै उसले एलोट्रोप ओजोनमा परिवर्तन गर्छ।

यो क्रियाद्वारा सूर्यको परावैजनी किरणको अधिकांश भाग पृथ्वीको वायुमण्डलमा नै अवशोसित हुन्छ। पृथ्वीको सतहभर धेरै मात्रामा यसको प्रभाव आइपुग्छ। सामान्य किसिमको परावैजनी किरणको प्रभाव जीवहरूले सहन सक्छन्। अतः सामान्य अवस्थामा मानिसलाई कुनै हानी गर्दैन। बरु हानीकारक किटाणु मर्छन्, जसले मानिसको जीवनलाई लाभ नै हुन्छ ।

छठ पर्वमा लोकआस्था

सूर्योपासनाका लागि प्रसिद्ध पर्व हो छठ। सूर्य षष्टी व्रत भएर छठ भन्न थालियो। यो पर्व वर्षमा दुई पटक हुने गर्छ चैत र कात्तिकमा । चैत शुक्ल पक्ष षष्टीमा मनाइने पर्वलाई चैत छठ भनिन्छ भने कात्तिक शुक्ल पक्षको षष्टीका दिन मनाइने पर्वलाई कात्तिक छठ भनिन्छ।

परिवारिक सुख समृद्धि तथा मनोकाङ्क्षा पूरा गर्ने यो पर्व विशेषतः सन्तानका लागि महिला र पुरुष दुवैले समान रूपले मनाउँछन् । छठ पर्वका धेरै कथा छन्, जसमध्ये महाभारत

कथाअनुसार पाण्डवहरूको जुवा हारेको राज्य पुनः प्राप्त गर्न द्रौपदीले यो व्रत राखेको भन्ने मानिन्छ । अर्को लोककथाअनुसार सूर्य देव र छठी देवीको सम्बन्ध भाइ-बहिनीको हो भन्ने मान्यता छ। लोक मातृका षष्टीको पहिलो पूजा सूर्यले गरेका थिए।

(यस लेख दर्शनराज न्यौपानेका हुन् )