काठमाडौँ, कात्तिक १० साेमवार, किष्ट अस्पतालमा आज बिहानैदेखि सुरक्षाकर्मीहरूको बाक्लो उपस्थिति देखिएको छ। अस्पतालको लापरबाहीका कारण एक गर्भवती महिलाको मृत्यु भएको भन्दै मृतकका आफन्त र परिवारजन आक्रोशित बनेपछि प्रहरीलाई सतर्क बनाइएको हो।

कात्तिक ७ गते उपचारका क्रममा ज्यान गुमाएकी ती महिलाको मृत्युबारे आफन्तले अस्पताललाई दोषी ठहर गर्दै न्यायको माग गरेका छन्। उनीहरूको आरोप छ  अस्पताल प्रशासनले घटनापछि न त छानबिन अघि बढायो, न त वार्ताको पहल नै गर्‍यो।

हिजो आक्रोशित भीडले अस्पताल परिसरमा सामान्य तोडफोड गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग नगरी अस्पताल वरिपरि घेराबन्दी गरेको छ। अहिले अस्पताल बाहिर ठूलो सङ्ख्यामा आफन्त र सर्वसाधारण भेला छन् भने प्रशासनले शान्त वातावरण कायम गर्न आग्रह गरेको छ।

स्थानीयले घटनाको छानबिन गरी दोषी चिकित्सक वा कर्मचारीमाथि कानुनी कारबाही गर्न माग गरेका छन्।