ललितपुर, कात्तिक १० साेमवार , पाटन दरबार क्षेत्रको ऐतिहासिक कार्तिक डबलीमा आजदेखि तीन सय ८३ वर्ष पुरानो कार्तिक नाच सुरु हुन लागेको छ। हरेक वर्ष कार्तिक महिनामा परम्परागत रूपमा मञ्चन हुँदै आएको यो नाच आज साँझदेखि आरम्भ हुने भएको हो।

कार्तिक नाच संरक्षण समितिका अध्यक्ष तथा कलाकार किरण चित्रकारका अनुसार, यस वर्षको नाचका लागि सम्पूर्ण तयारी पूरा भइसकेको छ। उनले भने, “पाटनवासीको सांस्कृतिक पहिचान बनेको यो नाच निरन्तरता दिन पाउँदा गर्व महसुस भएको छ।”

धार्मिक र सांस्कृतिक दृष्टिले महत्वपूर्ण कार्तिक नाचमा भगवान विष्णुको विभिन्न अवतार र पौराणिक कथा नाट्य रूपान्तरणमार्फत प्रस्तुत गरिन्छ। यो नाच कात्तिक १९ गतेसम्म हरेक साँझ ७ बजे पाटन दरबार डबलीमा नियमित रूपमा सञ्चालन हुनेछ।

स्थानीयवासी र देश–विदेशका दर्शकले पाटनको यो ऐतिहासिक सांस्कृतिक महोत्सवको आनन्द लिन सक्नेछन्।