काठमाडौं विराटपाटी अनलाइन डेक्स मंगलबार , कात्तिक ११, अरब सागर र बङ्गालको खाडी दुवैतर्फ सक्रिय मौसमी प्रणालीका कारण नेपालमा व्यापक वर्षा र पश्चिमी क्षेत्रमा बाक्लो हिमपात भइरहेको छ।


जल तथा मौसम विज्ञान विभागका अनुसार, अरब सागरमा बनेको न्यूनचापीय वायुप्रवाह भारतको गुजरात हुँदै नेपालको पश्चिमी भूभाग प्रवेश गरेको छ। यसले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात गराइरहेको छ।

त्यस्तै, बङ्गालको खाडीमा विकसित ‘मोन्था’ चक्रवातले देशका पूर्वी र तराईका भूभागमा वर्षाको सम्भावना बढाएको विभागले जनाएको छ। यसले बुधबारदेखि शुक्रबारसम्म विशेषगरी मोरङ, झापा, सुनसरी, धनकुटा र उदयपुर आसपासका क्षेत्रमा मध्यमदेखि भारी वर्षा गराउन सक्छ।

गण्डकी प्रदेशका हिमाली क्षेत्रमा बाक्लो हिमपातका कारण नेपाल पर्वतारोहण सङ्घले आरोहण दल र पदयात्रीलाई सुरक्षित स्थानमै रहन आग्रह गरेको छ।
त्यस्तै, विभिन्न जिल्ला प्रशासन कार्यालयहरूले पनि जोखिमयुक्त स्थानमा नजान र सतर्क रहन सूचना जारी गरेका छन्।

जल तथा मौसम विज्ञान विभागले ‘मोन्था’ चक्रवातको दिशा, तीव्रता र वर्षाको प्रभावबारे निरन्तर निगरानी गरिरहेको र आवश्यक परे विशेष सूचना जारी गरिने जनाएको छ। मंगलवारदेखि सक्रिय प्रणाली अझै केही दिन रहन सक्ने अनुमान गरिएको छ।

 हुदहुदको सम्झना

सन् २०१४ (वि.सं. २०७१) को कात्तिक महिनामा आएको ‘हुदहुद’ चक्रवातले पनि नेपालमा ठूलो वर्षा र क्षति पुर्‍याएको थियो।


मौसमविद्हरूका अनुसार, यसपटकको मोन्था पनि त्यस्तै समयमा विकसित भएकाले पूर्वी नेपालमा सतर्कता आवश्यक छ।