लिमी लाप्चामा चिनियाँ सुरक्षाकर्मीको सक्रियता, नेपाली भू–भागमै माइकिङ गर्दै अवरोध
२०८२ कार्तिक ११, मंगलवार २०:२२
११ कात्तिक, हुम्ला — हुम्लाको नाम्खा गाउँपालिका–६ लिमी लाप्चा क्षेत्रमा पछिल्ला दिनमा चिनियाँ सुरक्षाकर्मीको गतिविधि तीव्र भएको पाइएको छ। नेपाली भू–भागमै प्रवेश गरेर निगरानी र माइकिङमार्फत आवतजावतमा अवरोध गरेको स्थानीयवासीले गुनासो गरेका छन्।
लिमी लाप्चा क्षेत्र (लोलुङजोङ) नेपाल–चीन सीमांकनका क्रममा अस्पष्ट रहेको स्थानमध्ये पर्छ। चिनियाँ पक्षले यो क्षेत्रलाई “निषेधित” बताउँदै आएको भए पनि नेपाली तीर्थालुहरू वर्षौंदेखि त्यहाँबाट कैलाश–मानसरोवरको दूरदर्शन गर्न पुग्दै आएका छन्।
तर अहिले चिनियाँ सुरक्षाकर्मीले उनीहरूलाई रोक्न थालेपछि स्थानीयमा असन्तोष बढेको छ।
सिमकोट–१ का अविनाश लामाका अनुसार, “हामी आफ्नै भूमिमा थियौं, तर चिनियाँ सुरक्षाकर्मीले माइकिङ गर्दै अघि बढ्न रोक लगाए।” सिमकोटबाट बोलेरो जीपमा गएका करिब दुई दर्जन तीर्थालुहरूलाई लिमी लाप्चा नजिकै रोक लगाइएको थियो।
सिमकोट–६ का राजु रावतले भने, “बल्लतल्ल दुई–दुई जनालाई मात्र दूरदर्शन गर्न दिए, बाँकी साथीहरू दर्शन नै नगरी फर्किए।”
नाम्खा गाउँपालिका अध्यक्ष प्रेमबहादुर लामाले नेपाली भू–भागमा चिनियाँ अवरोध गम्भीर विषय भएको भन्दै गृह र परराष्ट्र मन्त्रालयले कूटनीतिक पहल गर्नुपर्ने बताए।
प्रशासनको दृष्टिकोण
हुम्लाका प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले पनि चिनियाँ सुरक्षाकर्मीको उपस्थितिको पुष्टि गर्दै भने, “त्यो खुला क्षेत्र हो, नेपालीहरू परम्परागत रूपमा त्यहाँबाट कैलाश दर्शन गर्न जान्थे। अहिले रोक लगाइएपछि विवाद सतहमा आएको हो।”
रेग्मीका अनुसार भारतका आध्यात्मिक गुरु सदगुरु जग्गी वासुदेव हालै उक्त क्षेत्र पुगेपछि त्यहाँको चहलपहल बढेको र त्यसपछि चिनियाँ सुरक्षाकर्मीको सक्रियता देखिएको हो।
“हामीले असोजमै गृह मन्त्रालयमा जानकारी गराएका छौं। पुराना सन्धि–सम्झौता अनुसार सीमा रेखा स्पष्ट गर्न आवश्यक देखिन्छ,” रेग्मीले भने।
उक्त क्षेत्रमा सीमा स्तम्भहरू टाढा–टाढा रहेका कारण अस्पष्टता बढेको प्रशासनको भनाइ छ। सशस्त्र प्रहरी बलले चिनियाँ सुरक्षाकर्मीहरूसँग समन्वय गरी संयुक्त गस्ती सुरु गर्ने तयारी गरेको र चिनियाँ पक्षबाट पनि सकारात्मक संकेत आएको सीडीओ रेग्मीले जानकारी दिए।
लिमी लाप्चा क्षेत्रमा चिनियाँ सुरक्षाकर्मीको बढ्दो उपस्थितिले स्थानीय र तीर्थालुहरूमा असहजता पैदा गरेको छ। सीमा रेखाको अस्पष्टता र कूटनीतिक निष्क्रियताका कारण नेपालको उत्तरी सिमानामा पुनः संवेदनशीलता बढ्न थालेको देखिन्छ।




