काठमाडौं कार्तिक १४ शुक्रबार , नेपाल राष्ट्र बैंकले नियामकीय नियम उल्लङ्घन गरेको भन्दै क्षेत्रीयस्तरको कार्यक्षेत्र भएको सप्तकोशी डेभलपमेन्ट बैंकलाई कडा शिघ्र सुधारात्मक कारबाही सुरु गरेको छ।

राष्ट्र बैंकका अनुसार स्थलगत निरीक्षणपछि बैंकको पुँजीकोष अवस्था अत्यन्त कमजोर देखिएको हो। २०८१ असार मसान्तमा आवश्यक १० प्रतिशत न्यूनतम पुँजीकोष अनुपातमा करिब ४२.७ प्रतिशतको कमी, र पछिल्लो वित्तीय विवरण (२०८२ असार मसान्त) अनुसार पनि ७.५१ प्रतिशत मात्र पुँजीकोष अनुपात रहेको पाइएको छ— जुन तोकिएको मापदण्डभन्दा २४.९ प्रतिशतले कम हो।

निरीक्षणमा थप, बैंकले चालुपुँजी कर्जा उचित कागजात बिना प्रवाह गरेको, कर्जा नोक्सानी व्यवस्थापन कमजोर रहेको, र राष्ट्र बैंकमा बुझाइएका रिपोर्टहरू विश्वसनीय नरहेको तथ्य फेला परेको छ। यस कारण बैंकका प्रमुख कार्यकारी अधिकृत (CEO) दिनेश कुमार पोखरेललाई नसिहत दिइएकोसञ्चालक समितिलाई लिखित आदेशमार्फत सुधारका लागि जिम्मेवार बनाइएको छ।

राष्ट्र बैंकले स्पष्ट रूपमा भनेको छ “निरीक्षणका क्रममा भेटिएका कमजोरी र त्रुटिहरू दोहोरिन नदिन, तथा प्रमुख कार्यकारी अधिकृतबाट भएका कैफियत सुधार्न संचालक समिति नै प्रत्यक्ष जिम्मेवार हुनेछ।”

अब सप्तकोशी डेभलपमेन्ट बैंकलाई लागू हुने सीमाहरू यसप्रकार छन् —
🔹 नयाँ कर्जा प्रवाह गर्न नपाउने
🔹 नयाँ शाखा खोल्न नपाउने
🔹 लाभांश बाँड्न नपाउने
🔹 ठूला खर्च गर्न नपाउने
🔹 कर्मचारीको तलब–सुविधा बढाउन नपाउने
🔹 र कुनै पनि ठूलो निर्णय राष्ट्र बैंकको अनुमति बिना गर्न नपाउने

राष्ट्र बैंकका अनुसार, यी प्रतिबन्धहरू बैंकले आफ्नो वित्तीय अवस्था सुधार नगरेसम्म कायम रहनेछन्।

लुम्बिनी विकास बैंकसहित अन्य संस्थाहरूसमेतमा यस त्रैमासमा यस्तै कारबाही गरिएको र नियामकीय शिथिलता सह्य नहुने चेतावनी केन्द्रीय बैंकले दिएको छ।