महाधिवेशन कार्यतालिका विवादले कांग्रेस बैठक रोकियो
२०८२ कार्तिक १४, शुक्रबार १५:२८
काठमाडौं कार्तिक १४ शुक्रबार ,नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक शुक्रबार निर्धारित समयमै बस्न नसकी स्थगित गरिएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे सुरु हुने भनिएको बैठक अब आइतबार दिउँसो १ बजे बस्ने भएको छ।
बैठक स्थगित हुनुको कारण पार्टीभित्र महाधिवेशन कार्यतालिका तय गर्ने विषयमा उत्पन्न विवाद रहेको बताइएको छ।
शुक्रबार बिहान महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग भेट गरी महाधिवेशनको मिति र कार्यतालिका तत्काल पेस गर्न माग गरेका थिए। उनीहरूले आजकै बैठकमा कार्यतालिका प्रस्तुत हुनुपर्ने अडान लिएका थिए।
महामन्त्री शर्माले मंसिर महिनाभित्र महाधिवेशन गर्न कठिन हुने भन्दै पुस १६ देखि १९ गतेसम्म १५औं महाधिवेशन आयोजना गर्ने प्रस्ताव राखेका थिए, जसमा अर्का महामन्त्री थापाले पनि सहमति जनाएका थिए।
तर कार्यतालिका नल्याउने निर्णय भएपछि असन्तुष्ट महामन्त्री थापाले आजको बैठकमै उपस्थित नहुने चेतावनी दिएका थिए।
यसैबीच, पार्टीभित्र आगामी महाधिवेशनको तयारी र नेतृत्वको जिम्मेवारीका विषयमा आन्तरिक असमझदारी अझ स्पष्ट रुपमा देखा परिरहेको देखिन्छ।




