लोकतन्त्र र राष्ट्रिय स्वाभिमान रक्षाका लागि सबै कार्यकर्ता एकजुट हुनुपर्ने ओलीको जोड

काठमाडौं कार्तिक १४ शुक्रबार , नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र विभाजित र असन्तुष्ट रहेका नेता–कार्यकर्तालाई पुनः आफ्नै पार्टीमा फर्किन आह्वान गरेका छन्। 

लोकतन्त्र, राष्ट्रिय स्वाधीनता र समृद्धिको रक्षा गर्न एकता अपरिहार्य भएको भन्दै ओलीले सबैलाई “जहाँ हुनुहुन्छ, फर्किनुस् आफ्नै घर फर्किनुस्” भन्ने भावनात्मक सन्देश दिएका हुन्।

ओलीले भने “एमाले केवल एउटा राजनीतिक संगठन होइन  यो जनताको रगत, पसिना, आँसु र आशाबाट बनेको विशाल परिवार हो। यस पार्टीको जग बसाल्न तीन पुस्ताले आफ्नो जीवनका उज्याला क्षण समर्पण गरेका छन्। कसैले जेलयातना भोगे, कतिले बलिदान दिए, र धेरैले युवावस्था आन्दोलनमा अर्पण गरे।”

अध्यक्ष ओलीले हाल देशमा “लोकतान्त्रिक संविधानमाथि आक्रमण भइरहेको र राष्ट्रिय स्वाभिमानमाथि चुनौती खडा भएको” दाबी गर्दै, यस्तो अवस्थामा मौन बस्न नहुने बताएका छन्। उनले जनताको अधिकार र लोकतन्त्रको रक्षा गर्न सङ्गठित रूपमा अघि बढ्नुपर्ने जोड दिएका छन्।

ओलीले सबै कार्यकर्तालाई उद्देश्य स्पष्ट पार्दै भने 

“फेरि हामी सबै काँधमा काँध मिलाएर अघि बढौं  देशको स्वाधीनता जोगाऔं, लोकतन्त्रको रक्षा गरौं, र जनताको जीवनमा सुख, समृद्धि र आशाको ज्योति बालौं। हामी एउटै परिवार हौं, हाम्रो लक्ष्य स्पष्ट छ — समृद्ध नेपाल, सुखी नेपाली।”

राजनीतिक विश्लेषकहरूका अनुसार ओलीको यो सन्देशलाई पार्टीभित्रको असन्तुष्ट समूह र पुराना नेताहरूलाई पुनः एकै थलोमा ल्याउने संगठनात्मक रणनीतिका रूपमा हेरिएको छ।