रिलायन्स स्पिनिङ मिल्स बन्द, चार हजारभन्दा बढी श्रमिक बेरोजगार
२०८२ कार्तिक १५, शनिबार १६:०९
सुनसरी कार्तिक १५ शनिबार , डेडिकेटेड फिडर र ट्रंकलाइन महसुल विवादका कारण नेपाल विद्युत् प्राधिकरणले कात्तिक पहिलो हप्तादेखि दुई दर्जनभन्दा बढी उद्योगको बिजुली लाइन काटेपछि उत्पादन ठप्प भएको छ।
सुनसरी खनारस्थित रिलायन्स स्पिनिङ मिल्स पनि यही विवादको चपेटामा परेको छ। सन् १९९६ देखि सञ्चालनमा रहेको मिल कात्तिक ३ गतेदेखि बन्द छ।
महाप्रबन्धक महेश पोखरेलका अनुसार, उद्योगमा करिब ४ हजार श्रमिक बेरोजगार भएका छन्। “३० वर्षमा आन्तरिक कारणले कहिल्यै बन्द भएको छैन,” उनले भने, “तर बाह्य कारणले उद्योग ठप्प छ।”
पोखरेलले प्राधिकरणले महसुल नतिरेको आरोप लगाए पनि उद्योगको तर्फबाट कुनै बक्यौता बाँकी नभएको दाबी गरे। “हामीले नियमित बिल तिरेका छौं, तर पछि एक्कासि अर्बौँको बिल आएको छ,” उनले बताए।
प्राधिकरणले भने उद्योगहरूले डेडिकेटेड फिडरको शुल्क नतिरेकाले लाइन काटिएको बताएको छ। यस विवादका कारण देशभरका उद्योगहरूमा उत्पादन र रोजगारी संकटमा परेका छन्।




