प्रधानमन्त्रीको कठोर चेतावनी : “नातावाद र कृपावादको अध्याय अब बन्द गर्नुपर्छ”
२०८२ कार्तिक १६, आईतवार १७:१९
काठमाडौं कार्तिक १६ आईतवार . नेपाल वायु सेवा निगममा चल्दै आएको पहुँचवाद र मनपरी भर्तीमाथि प्रधानमन्त्री सुशीला कार्की आक्रोशित हुनुभएको छ। पर्यटन मन्त्रीको जिम्मेवारीसमेत सम्हालिरहेकी प्रधानमन्त्री कार्कीले शनिबार सिंहदरबारमा निगमका संचालक समिति र व्यवस्थापन पदाधिकारीलाई बोलाएर “अब बेथिति सह्य छैन” भन्दै स्पष्ट निर्देशन दिनुभयो।
प्रधानमन्त्री कार्कीका अनुसार, “जेन-जी आन्दोलनको मर्म नातावाद र विभेद अन्त्य गर्नु हो, तर आन्दोलनकै बीचमा फेरि आफ्ना मान्छे भर्ना गर्ने खेल सुरु भएको छ, यो अस्वीकार्य छ।”
निगममा करारका नाममा ठूला पहुँचवालाई जागिर बाँड्ने प्रवृत्तिप्रति असन्तुष्टि जनाउँदै उहाँले तत्काल ती नियुक्ति खारेज गर्न आदेश दिनुभयो।
उहाँको भनाइमा, कुनै समय गौरव गर्नलायक बनेको वायु सेवा निगम आज “धनाढ्यको बिग्रिएको घरजस्तो—बाहिर चमकिलो तर भित्र गम्भीर रोगले ग्रस्त” बनेको छ।
प्रधानमन्त्रीले निगमका प्रमुखहरूलाई गैरकानुनी दबाब अस्वीकार गर्न र विधिसम्मत काम गर्न सुझाव दिँदै भनिन्,
“राजनीतिक दबाब मान्ने तपाईंहरूलाई भोलि कारबाही भोग्नुपर्छ। राम्रो काम गर्दा अख्तियारसँग डराउन पर्दैन, अख्तियारलाई बहाना बनाएर हात बाँधेर नबस्नुस्।”
निगमको आफ्नै जहाज मर्मतका नाममा बाहिर पठाएर फर्काउन ढिलाइ गर्ने र भाडाको इन्जिन प्रयोग गरेर अनावश्यक खर्च बढाउने प्रवृत्तिलाई पनि उहाँले “जनताको धनमाथिको चोट” भनेर सम्बोधन गर्नुभयो।
“यो घाटा जनताको हो, अब कठोर र अप्रिय निर्णय लिनु अपरिहार्य छ,” प्रधानमन्त्रीको भनाइ थियो।
कार्यक्रममा निगमका निमित्त महाप्रबन्धक जनकराज कालाखेतीले १७ अर्ब रुपैयाँभन्दा बढीको सञ्चित नोक्सानीको विवरण प्रस्तुत गर्नुभयो।
सञ्चालक समितिका कार्यवाहक अध्यक्ष विक्रम राईले “केही दिनभित्र देखिने गरी सुधारका कदम चालिने” प्रतिबद्धता जनाउनुभयो।
प्रधानमन्त्री कार्कीले अन्त्यमा भनिन् “नाफा नभए पनि सेवा निरन्तर र इमानदार हुनुपर्छ। तर यहाँ त नाफा पनि छैन, इमानदारी पनि हराएको छ।”




