निजी क्षेत्रका नर्सका लागि नयाँ तलबमान लागू : अब न्यूनतम रु ३४,७३० लागू
२०८२ कार्तिक १६, आईतवार २१:१८
काठमाडौं, कात्तिक १६ आइतबार ,लामो संघर्षपछि निजी क्षेत्रमा कार्यरत नर्सहरूका लागि नयाँ तलबमान लागू भएको छ। नेपाल नर्सिङ संघ, मेडिकल कलेज र निजी स्वास्थ्य संस्थाहरूबीच आज भएको त्रिपक्षीय सम्झौताबाट नर्सहरूको तलब र सुविधा सम्बन्धी ऐतिहासिक सहमति भएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्माको विशेष पहलमा र कार्यदलको उपस्थितिमा सम्पन्न वार्ताबाट निजी क्षेत्रका नर्सहरूको न्यूनतम तलब सरकारले तोकेको पाँचौँ तहको बराबर हुने सहमति भएको छ।
निजी मेडिकल कलेजहरूले आफ्ना शिक्षण अस्पतालका नर्स तथा स्वास्थ्यकर्मीलाई रु ३४,७३० तलब कार्तिक महिनादेखि नै दिने।
अन्य निजी र सामुदायिक अस्पतालहरू तथा डेन्टल कलेजहरूले सो दरको ८० प्रतिशत (रु २७,७८४) न्यूनतम तलब प्रदान गर्नुपर्ने।
अतिरिक्त सेवा र रात्रीकालीन ड्युटीको पारिश्रमिक यसमा समावेश नहुने।
सरकारी र निजी क्षेत्रका नर्सहरूको अन्य मागबारे कार्यदलले एक महिनाभित्र कार्ययोजना तयार गर्ने।
यस सम्झौतापछि आन्दोलनरत नर्सहरूले आफ्नो दीर्घकालीन माग पूरा भएको भन्दै खुशी व्यक्त गरेका छन्।
नेपाल नर्सिङ संघले यस उपलब्धिलाई “नर्स पेशाको सम्मान र व्यावसायिक स्थायित्वतर्फको ऐतिहासिक कदम” भनेर व्याख्या गरेको छ।




