कांग्रेस सुधार अभियान : युवाको ४०% सहभागिताको मागसहित शेखर कोइरालानिकट समूहद्वारा पार्टी कार्यालयमा तालाबन्दी
२०८२ कार्तिक १६, आईतवार २१:४७
काठमाडौं, कात्तिक १६ आइतबार , नेपाली कांग्रेसभित्र सुधार र नयाँ पुस्ताको सहभागिता सुनिश्चित गर्न माग गर्दै शेखर कोइरालानिकट युवाहरूले आज सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा तालाबन्दी गरेका छन्।
नेपाल विद्यार्थी संघ (नेविसंघ) का केन्द्रीय सदस्य र पूर्वकोषाध्यक्ष शिव रिमालको नेतृत्वमा भएको प्रदर्शनमा प्रेमिका राना मगर, भुवन भट्ट, विनोद शाही ठकुरीलगायत युवाहरू सहभागी थिए। उनीहरूले “युवाको ४० प्रतिशत प्रतिनिधित्व सुनिश्चित गर” र “१५ औं महाधिवेशनको कार्यतालिका तुरुन्त सार्वजनिक गर” भन्ने दुई प्रमुख माग अघि सारेका छन्।
युवाहरूले केन्द्रीय कार्यसमिति बैठक स्थगित भइरहनुलाई नेतृत्वको अनिर्णयको प्रतीक भन्दै विरोध जनाए। रिमालले भने, “पार्टीमा युवा पुस्ताको अधिकार र जिम्मेवारी बराबर हुनुपर्छ। अब काँग्रेसमा उमेर होइन, क्षमता बोल्ने समय आएको छ।”
यसबीच कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पदाधिकारी र पूर्वपदाधिकारीहरूसँग ललितपुरको धोविघाटमा छलफल गरिरहेका छन्।
नेता शेखर कोइरालाले भने विगतदेखि नै मंसिरभित्र १५औं महाधिवेशन सम्पन्न गर्नुपर्ने धारणा राख्दै आएका छन् । सुधार अभियानले काँग्रेसभित्र पुस्तान्तरणको बहस पुनः तातो बनाएको छ।




