प्रचण्डको नयाँ मोड : माओवाद छाड्ने बाटोमा विचारको पुनर्जन्म कि अस्तित्वको संघर्ष?
२०८२ कार्तिक १७, सोमबार १३:१४
काठमाडौं कार्तिक १७ साेमबार, पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक यात्रा विचारभन्दा बढी रूपान्तरणको यात्राजस्तो देखिन थालेको छ। ३७ वर्षमा छ पटक पार्टीको नाम बदलेका र दुई पटक माओवादी विचारधारालाई आंशिक रूपमा त्यागेका प्रचण्ड आज फेरि नयाँ नामको खोजीमा छन्।
८ दलबीचको एकता सहमतिले उनलाई फेरि एक ‘नयाँ आरम्भ’को मोडमा पुर्याएको छ। तर, यो आरम्भ विचारको पुनर्जागरण हो कि केवल अस्तित्व जोगाउने रणनीति यही प्रश्न अहिले माओवादी वृत्तभित्र गुञ्जिरहेको छ।
२०४८ सालमा ‘नेकपा एकता केन्द्र’ बाट सुरु भएको प्रचण्डको यात्राले जनयुद्धको ज्वालामा माओवादी नामलाई ऐतिहासिक बनायो। तर, सत्ता–राजनीतिमा प्रवेश गरेपछि त्यो ज्वाला क्रमशः धुवाँमा बदलिँदै गयो।
पार्टी एकता र विभाजनका घुम्तीमा हिँड्दा, प्रचण्डले ‘माओवादी’ नामलाई पटक–पटक पुनः निर्माण र विघटन गरेका छन्। आज, जब उनले जनसमाजवादीको पाँचकुने तारा चिह्नमा सहमति जनाएका छन्, पुराना कार्यकर्ताहरूभित्र प्रश्न छ – के माओवादीको आत्मा पनि सँगै मेटिँदैछ?
अग्नि सापकोटा भन्छन्, “नाम र चिह्न प्राविधिक कुरा हुन्।” तर इतिहास भन्छ — राजनीतिक नाम र चिह्न केवल प्रतीक होइन, विचारको सार हुन्।
माओवादी केन्द्रले गोलभित्रको हँसिया–हथौडालाई हटाउँदा त्यो केवल चिह्न होइन, एउटा युगको प्रतीक हराएको अनुभूति कार्यकर्तामा छ
जनयुद्धदेखि गणतन्त्रसम्म : प्रचण्डको ‘सफल संक्रमण’
यो तथ्य अस्वीकार गर्न सकिँदैन कि प्रचण्डकै नेतृत्वमा जनयुद्धले गणतन्त्रको बाटो खोलेको हो। तर, गणतन्त्रको सफल यात्रामा प्रवेश गरेपछि, माओवादी आन्दोलनले आफ्नो वर्ग–संघर्षको चरित्र हरायो। सत्ता–साझेदारी, पद–समझदारी र गठबन्धन–निर्भरता नै अबको नयाँ ‘विचारधारा’ बनेको छ।
कात्तिक १९ मा घोषणा हुन लागेको नयाँ पार्टीले के माओवादी केन्द्रको राजनीतिक अध्याय बन्द गर्नेछ ? कि त्यो केवल नाम परिवर्तनको अर्को अध्याय हुनेछ ?
यदि यो एकता केवल अस्तित्व टिकाउने रणनीति हो भने, विचारधारात्मक स्पष्टता झन् धुमिल हुनेछ। तर, यदि यो सचेत आत्मपुनर्निर्माण हो भने, प्रचण्ड फेरि एकपटक राजनीतिक इन्जिनियरिङको मास्टर ठहरिनेछन्।
३७ वर्षको राजनीतिक यात्रामा प्रचण्डले जनयुद्धको नेतृत्वदेखि गणतन्त्रको स्थापना र अहिले एकताको ‘प्रयोगशाला’ सम्म आइपुगेका छन्। तर प्रश्न उही छ —
“माओवादी विचारधारा बाँचिरहेको छ कि केवल नाम परिवर्तनको इतिहास दोहोरिँदैछ?”
राजनीतिक रूपान्तरण र वैचारिक स्थायित्वबीचको यो द्वन्द्व नै प्रचण्डको वर्तमान राजनीतिक अनुहार हो।
(लेखक डिआरएनले राजनीति विश्लेषणका रूपमा निजी विचार हुन् )




