जनकपुरधाम, कात्तिक १८ मंगलबार  — वडाध्यक्षबाट खुट्टा मालिस गराउँदै गरेको भिडियो भाइरल भएपछि चर्को आलोचना खेपिरहेका सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष दिननाथ चौधरीले अन्ततः पदबाट राजीनामा दिएका छन्।

उपाध्यक्षको कार्यकक्षमा सोफामा सुतेर वडाध्यक्षसँग खुट्टा मालिस गराएको दृश्य सामाजिक सञ्जालमा फैलिएपछि चौधरी आलोचनाको केन्द्र बनेका थिए।

लगत्तै उनले ५ असोजमै उपाध्यक्ष कल्पना चौधरीलाई सम्बोधन गर्दै राजीनामा पत्र बुझाएका थिए, जुन आज बसेको कार्यपालिका बैठकले स्वीकृत गरेको उपाध्यक्ष चौधरीले जानकारी दिइन्।

राजीनामा पत्रमा चौधरीले लेखेका छन् विभिन्न कारणवश म गाउँपालिका अध्यक्षको जिम्मेवारी निरन्तर वहन गर्न असमर्थ छु। पदमा आवश्यक दक्षता, समय र ऊर्जा दिन नसकेको महसुस भएकाले स्वेच्छाले राजीनामा दिएको छु।”

उनले अध्यक्षको रूपमा पाएको अनुभवलाई “जीवनको महत्त्वपूर्ण उपलब्धि” भन्दै समाज र गाउँको सेवामा निरन्तर समर्पित रहने प्रतिबद्धता पनि जनाएका छन्।

चौधरी एमालेबाट निर्वाचित अध्यक्ष हुन् भने उपाध्यक्ष कल्पना चौधरी नेपाली कांग्रेसबाट निर्वाचित भएकी हुन्।
जनप्रतिनिधिहरूबीचको आन्तरिक विवादका कारण गाउँसभा समेत ढिलो गरी ५ कात्तिकमा मात्रै बसेको थियो

भिडियो विवादले सुरुआतमा हल्ला झैँ देखिए पनि अन्ततः “खुट्टा मालिस प्रकरण” ले अध्यक्ष चौधरीको राजनीतिक यात्रामा ठूलो धक्का पुर्‍याएको छ।