काठमाडौँ, कात्तिक १८ मंगलबार  — नेपाल प्रहरी प्रधान कार्यालयले डिआइजी अविनारायण काफ्लेलाई केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी दिएको छ।

नेपाल प्रहरीका तर्फबाट सम्पादित जनसरोकाका काम, कारबाही तथा गतिविधिहरूलाई तथ्यपरक, यथार्थ र समयानुकूल रूपमा सञ्चार माध्यमहरूमा प्रवाह गर्न तथा संस्थाको आधिकारिक अभिव्यक्ति प्रस्तुत गर्न उहाँलाई प्रवक्ताको जिम्मेवारी तोकिएको हो।

प्रहरी संगठनका गतिविधिहरूको पारदर्शिता, जनविश्वास वृद्धि र संस्थागत छविलाई सुदृढ बनाउन प्रवक्ताको भूमिका अत्यन्त महत्वपूर्ण हुने नेपाल प्रहरीले जनाएको छ।

उनले  हालसम्म विभिन्न जिम्मेवारीमा रहँदै अनुशासित, दक्ष र संचारमाध्यममैत्री अधिकारीका रूपमा परिचित रहँदै आएका छन्।

सार्वजनिक सूचना अनुसार, उहाँसँग सम्पर्क गर्नका लागि फोन नं. ९८५१२२११११ र इमेल: spokesperson@nepalpolice.gov.np प्रयोग गर्न सकिनेछ।

नेपाल प्रहरीले काफ्लेलाई केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी दिँदै सञ्चार माध्यम तथा नागरिक समाजसँगको सूचना आदान–प्रदानलाई अझ प्रभावकारी र व्यवस्थित बनाउने विश्वास व्यक्त गरेको छ।