काठमाडौं कार्तिक १९ बुधबार , नेपाली काँग्रेसको संगठन विस्तारमा ठुलो चुनौती देखिएको छ । पार्टीका करिब ९ लाख क्रियाशील सदस्यमध्ये ६ लाखले सदस्यता नवीकरण नगरेको पाइएको छ ।

केन्द्रीय कार्यालयमा प्राप्त ४६ जिल्लाको विवरणअनुसार हालसम्म जम्मा ३ लाख ९ हजार २५४ जनाले मात्रै सदस्यता नवीकरण गरेका छन् । पार्टीले २०८० सालमै ८ लाख ७० हजार ८८४ सदस्यता जिल्लाहरूमा पठाएको भए पनि निर्धारित समयावधिभित्र नवीकरण प्रक्रिया सुस्त गतिमा अघि बढेको छ।

काँग्रेसको कार्यतालिका अनुसार २०८१ चैतसम्म नवीकरण सम्पन्न हुनुपर्ने थियो, तर धेरैजसो जिल्लामा कार्यकर्ताले चासो नदेखाएको पार्टी नेताहरूले स्वीकारेका छन्।

स्रोतका अनुसार स्थानीय तहदेखि केन्द्रसम्मको संगठनमा आन्तरिक मतभेद, नेतृत्वप्रतिको असन्तोष र राजनीतिक निराशाका कारण सदस्यता नवीकरणमा ठप्प अवस्था आएको हो।

अब बाँकी ६ लाख सदस्य सक्रिय बनाउन र संगठन पुनर्सक्रिय गर्न काँग्रेस नेतृत्वमाथि थप दबाब परेको छ।